• १३ वैशाख २०८१, बिहिबार

फ्रेन्ड्ससँग बराबरीका रोकियो मच्छिन्द्र

blog

मच्छिन्द्रका खेलाडी ।

काठमाडौं, जेठ ४ गते । साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा तुलनात्मक रूपमा कमजोर टोली फ्रेन्ड्स क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

दशरथ रङ्गशालामा बिहीबार भएको खेलमा मच्छिन्द्र फ्रेन्ड्ससँग २-२ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले दोस्राे हाफमा गोल गरेका थिए । 

खेलमा सुरुवाती अग्रता फ्रेन्ड्सले लिएको थियो । फ्रेन्ड्सका लागि प्रकाश बुढाथोकीले ६८औँ र राफिक अमिनुले ७८औँ मिनेटमा गोल गर्नुभयो । मच्छिन्द्रका आफिज ओलावालेले ७१औँ र ८३औँ मिनेटमा व्यक्तिगत दुई गोल गर्दै टोलीलाई हारबाट जोगाउनुभयो ।

बराबरीसँगै १९ खेलबाट ३१ अङ्क बनाएको मच्छिन्द्र तेस्रो स्थानमा छ । समान खेलबाट २१ अङ्क बनाएको फ्रेन्ड्स १३औँ स्थानमा छ । फ्रेन्ड्स रेलिगेसनको दबाबमा छ । 

यस्तै च्यासल मैदानमा भएको अर्को खेलमा मनाङ मर्स्याङ्दी क्लब र सङ्कटा क्लबले पनि २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । मनाङले सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो । मनाङका लागि कोफी कुडोले १९औँ र ४५औँ मिनेटमा दुई गोल गर्नुभएको थियो ।

सङ्कटाका लागि युसेफ एट्रिसले ४४औँ र मनिष डाँगीले ५२औँ मिनेटमा गोल गर्दै खेलललाई बराबरीमा ल्याउनुभएको थियो । बराबरीसँगै १९ खेलबाट २३ अङ्क बनाएको मनाङ सातौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अङ्क बटुलेको सङ्कटा आठौँ स्थानमा छ ।