• २७ पुस २०८१, शनिबार

गोरखापत्रकर्मी खानसहित सात जनालाई अन्तर्राष्ट्रिय सम्मान प्रदान

blog

गोरखापत्रकर्मी खानलाई सम्मानित गर्नुहुँदै पूर्वमन्त्री राई । तस्बिर : गोरखापत्र

सिराज खान
नेपालगञ्ज, जेठ ४ गते । 
गोरखापत्रका नेपालगञ्ज समाचारदाता सिराज खानलाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको छ । यहाँ आयोजना गरिएको एक वृहत् कार्यक्रममा समाचारदाता खानलगायत सात जना विशिष्ट व्यक्तित्वहरूलाई विभिन्न विधामा अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो ।

मुस्लिम जर्नलिस्ट क्लब नेपालले नेपालगञ्जमा बिहीबार आयोजना गरेको ‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मानहरू प्रदान गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले बताउनुभयो ।

क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाद्वारा पत्रकार डा. डक्टप्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनीतिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, पूर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहलाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’ र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।

कार्यक्रममा पूर्वमन्त्री इश्तियाक राईले सम्मानित हुनेहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गर्नुभयो । सो अवसरमा उहाँले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरूलाई मायाको चिनो प्रदान गरेर सम्मान गर्नुभयो ।

सम्मानित हुने जनप्रतिनिधिहरूमा लुम्बिनी प्रदेशसभाका सदस्यहरू सायरा बाने, मिना सिद्धिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरू हुनहुन्थ्यो ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासँगै चेतना वृद्धि गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक विचारधारा अलगअलग भए पनि समुदायको उत्थान र भलाइका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा संविधान सभाका सदस्य अब्दुल हमिद सिद्धिकी, नेकपा (एमाले)का केन्द्रीय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्धिकी, वरिष्ठ मुस्लिम अगुवाहरू अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खान, रहमान मिया, नरैनापुर गापा अध्यक्ष इश्तियाक अहमद शाह, जियाउला हक, याकुब अन्सारी र मुस्लिम सङ्घ बाँकेका अध्यक्ष सुफियान खान लगायतले समुदायका सवाल र त्यसको समाधानबारे आ–आफ्ना धारणा राख्नु भएको थियो ।