• ७ वैशाख २०८१, शुक्रबार

स्याउमा झुसिलकिरा लागेपछि किसानलाई चिन्ता

blog

स्याउ बगैंचामा देखिएको झुसिलकिरा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, जेठ ३ गते । जुम्लाको तातोपानी गाउँपालिका वडा नम्बर १ मा रहेका स्याउ बगैंचामा झुसिलकिरा लागेर फल सखाप हुन थालेको छ । तातोपानी गाउँपालिका १ तराफीमा भएका १५० वटा स्याउ बगैंचामा झुसिलकिरा  लागेर स्याउको फल र फूल खान थालेपछि सो क्षेत्रका किसान चिन्तित भएका हुन् । 

तातोपानी गाउँपालिका र जिल्ला कृषि विकास समितिको पहलमा किराको प्रकोप व्यवस्थापन गर्न बसेको जिल्ला स्तरीय बैठकले तत्काल प्राविधिक टोली खटाउनुका साथै आवश्यक सहयोगका लागि प्रदेश र संघीय सरकारसँग माग गरेको छ । 

एक महिना अघिदेखि किरा लागेको छ भन्ने खबर पाएपछि गाउँपालिकाको कृषि शाखाको टोली त्यहाँ पुगेर फर्किएको छ । सो क्षेत्रमा गएर फर्किएको टोली आवश्यक स्रोत साधन तथा विज्ञ टोलीको आवश्यकता रहेको बताएको छ। 

तातोपानी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतका अनुसार किरा निराकरण नगरे तातोपानी गाउँपालिका वडा नम्बर १ का चार सय घरधुरीका किसानका स्याउ बगैंचामा क्षति पुग्ने देखिएको छ । 

विज्ञ टिमको माग 

झुसिलकिरा जिल्लाभर फैलिने भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतामा बसेको बैठकले तत्काल जिल्ला स्तरको प्राविधिक टोली खटाउने बताएको छ । 

जिल्ला कृषि विकास कार्यालयको संयोजकत्वमा प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन कार्यालय, कृषि अनुसन्धान केन्द्र, वागवानी अनुसन्धान केन्द्र, तातोपानी गाउँपालिका कृषि शाखा,  वडाध्यक्ष र पत्रकार महासंघको प्रतिनिधिसहितको टोली  पठाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनुभयो । यसैगरी सो किरा व्यापक रुपमा फैलिएको हँुदा केन्द्र सरकार तथा प्रदेश सरकारलाई विज्ञटोलीसहित पठाइदिन अनुरोधसमेत गरिएको छ ।