सिङ्गापुर, असार १२ गते । सिङ्गापुरको उत्पादन क्षेत्रले मे महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.९ प्रतिशतले वृद्धि गरेको छ । सिङ्गापुरको आर्थिक विकास बोर्डले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार, अघिल्लो महिना अर्थात् वैशाखमा यो वृद्धिदर ५.९ प्रतिशत रहेको थियो ।
मौसमी रूपमा मिलाइएको मासिक आधारमा हेर्दा, कुल उत्पादन ०.४ प्रतिशतले घटेको देखिएको छ । तर, औषधीजन्य उत्पादनलाई बाहिर राख्दा, उत्पादनमा ०.७ प्रतिशतको वृद्धिदर देखिएको छ । उत्पादन वृद्धिमा यातायात प्रविधि क्षेत्र सबैभन्दा अगाडि रहेको छ, जसमा वार्षिकरूपमा २५.६ प्रतिशतको वृद्धि देखिएको छ ।
यस क्षेत्रभित्र हवाई प्रविधि उपक्षेत्रले ४३.६ प्रतिशतले वृद्धि गरेको छ, जुन हवाई जहाजका भागपुर्जा उत्पादन र वाणिज्यिक विमानहरूमा मर्मत, जाँच र सुधारका कार्य बढेका कारण भएको हो । जल तथा अपतटीय प्रविधि उपक्षेत्रमा पनि पानीजहाज कारखानाहरूमा गतिविधि बढेसँगै ५.३ प्रतिशतको वृद्धि भएको छ । यन्त्रनिर्माण, औषधीजन्य उत्पादन, विद्युतीय सामग्री निर्माण, र रासायनिक उत्पादन क्षेत्रहरूमा पनि वार्षिकरूपमा सकारात्मक वृद्धि देखिएको छ । तर, सामान्य उत्पादन क्षेत्रले भने अघिल्लो वर्षको तुलनामा घटावट देखाएको छ । रासस