• २२ वैशाख २०८१, शनिबार

कृष्णमोहन स्मृति ब्याडमिन्टन यसै महिना

blog

१६औं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता बारे जानकारी दिँदै आयोजक । तस्बिर सौजन्य : ग्राफिक आर्ट्स

काठमाडौं, जेठ ३ गते । १६औं कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता जेठ २१ देखि २४ गतेसम्म हुने भएको छ । शसस्त्र प्रहरी बलको आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न १० स्पर्धा समावेश गरिएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । 

हल्चोकमा हुने प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, महिला युगल, मिक्स डबल्स, यू–१२ छात्र, यू–१९ छात्र, भेट्रान्स युगल ४५ वर्षमाथि, भेट्रान्स युगल ५५ वर्षमाथि र नेपाल सरकारको सरकारी सेवामा कार्यरत र अवकास प्राप्त सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती सेवाका राजपत्राङ्कित अधिकृत ३५ वर्षमाथिको स्पर्धामा प्रतिस्पर्धा हुनेछ । 

कोरोनाका कारण २०७५ सालपछि प्रतियोगिता आयोजना गर्न लागिएको शसस्त्र प्रहरीले जनाएको छ । प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघल प्राविधिक सहयोग गर्नेछ । नेपाल ब्याडमिन्टन संघको शीर्ष वरीयतामा रहेका खेलाडीको समेत सहभागिता रहने प्रतियोगितामा पुरुष र महिला एकलतर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश: ७० हजार, ३५ हजार र २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् । 

यस्तै पुरुष र महिला युगलतर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ५५ हजार, ३० हजार र २० हजार, यू–१५ र यू–१९ तर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: २५ हजार, १५ हजार र १० हजार, मिक्स डबल्सका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ५० हजार, ३० हजार र २० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

यस्तै भेट्रान्स युगल ४५ वर्षमाथि र भेट्रान्स युगल ५५ वर्षमाथि तथा सरकारी र निजामती सेवातर्फका विजेता, उपविजेता र तेस्रो हुनेलाई क्रमश: ३० हजार, २० हजार र १५ हजार रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै १२औं सहवीर स्मृति खुला राष्ट्रिय लन टेनिस प्रतियोगिता भदौमा सञ्चालन गरिने पनि पत्रकार सम्मेलनमा जानकारी दिईयो ।