देवराम यादव
सप्तरी, मङ्सिर २९ गते । सप्तरीको सप्तकोशी नगरपालिकामा १६ औँ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता सुरु भएको छ । नगर शिक्षा युवा तथा खेलकुद शाखाले मावि ओद्राहाको प्राङ्गणमा आइतबारदेखि प्रतियोगिता आयोजना गरेको हो ।
सप्तकोसी नगरपालिकाभित्र रहेका ११ सामुदायिक र १० वटा निजी गरी कुल २१ विद्यालयका ५ सय २७ जना खेलाडी विद्यार्थी सहभागी प्रतियोगिता आगामी तीन दिनसम्म प्रतियोगिता सञ्चालन रहने नगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जयप्रकाश चौधरीले बताउनुभयो ।
प्रतियोगितामा भलिबल, कबड्डी, सर्टपुट, रनिङ, रिले, हाइजम्प, लङजम्प लगायतका खेल हुने शाखा प्रमुख चौधरीले बताउनुभयो ।
नगर प्रमुख कृष्णप्रसाद ढकालको अध्यक्षतामा आयोजित प्रतियोगितामा उपमेयर, वडाअध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत,लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको उद्घाटन नगर प्रमुख ढकालले गरेका थिए भने कार्यक्रम सञ्चालन बालबालिका शाखा प्रमुख विष्णुमाया नेपालले गरेकी थिइन् ।