• ६ वैशाख २०८१, बिहिबार

अवैध प्रिपेड सिमकार्ड वितरणका नाममा ठगिँदै दक्षिण कोरिया जाने नेपाली कामदार

blog

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवाल ।

काठमाडौं, जेठ ३ गते । दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

ललितपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरूलाई अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो । सिमकार्ड निःशुल्क रूपमा वितरण भइरहेको भए पनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले सिमकार्ड वितरण निःशुल्क वितरण गर्ने भनिए पनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति तीन हजार रुपियाँसम्म उठाउने गरेको पाइएको बताउनु भयो । उहाँले अवैध रूपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताउनुभयो ।

उहाँले अवैध रूपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारबाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी दिनुभयो । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताउनुभयो ।

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यालय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरू बजार मूल्यभन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि बताउनुभयो । त्यस्तै, उहाँले ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको जानकारी दिनुभयो ।

निर्देशक कटुवालले ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरूको फारम भर्ने लगायत सेवा सम्बन्धी अन्य कार्यहरू गर्दा उपोभोक्तलाई ठगी गर्ने गरेको बारे सम्बन्धी निकायलाई ताकेता गरेको करिब पाँच महिना पुग्न लाग्दा समेत सम्बन्धी निकाय भने मौन देखिएको गुनासो गर्नुभयो ।

निर्देशक कटुवालले हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन समेत गर्न नआएको बताउनुभयो ।