• २७ पुस २०८१, शनिबार

भेटिए खोप नलगाएका बालबालिका

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, जेठ ३ गते  । नेपालगन्जमा कुनै पनि खोप नलगाएका १७७ जना बालबालिका भेटिएका छन्। नेपालगन्ज उपमहानगरपालिकाले यहाँ केही समयअघि सुरु गरेको खोप नलगाएका बालबालिकाको खोजी गरेर खोप लगाउने अभियान अन्तर्गत १७७ जना कुनै पनि खोप नलगाएका बालबालिका भेटिएका हुन्। 

स्वास्थ्य कार्यालय बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार नेपालगन्जमा १७७ जना कुनै खोप नलगाएका बालबालिका भेटिएका छन् भने ६९२ जना बालबालिकाले बिचैमा खोप लगाउन छोडेर खोपको मात्रा पूरा नगरेको पाइएको छ। 

नेपालगन्ज उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले घर घरमा स्वास्थ्यकर्मीलाई पठाएर सर्वेक्षण गरी खोप नलगाएका र बिचमै छोडेकाको खोजी गरेको जनाउँदै अब ती सबैलाई आइतबार खोप लगाउने योजना रहेको बताउनुभयो। नेपालगन्ज उपमहानगरपालिकाका निमित्त प्रमुख कमरुद्दिन राईले खोप लगाउन छुटेका बालबालिकाबाट बेलाबेलामा महामारी देखा पर्ने गरेको जनाउँदै कोही पनि नछुट्ने गरी खोप लगाइने बताउनुभयो। 

बालबालिकालाई विभिन्न रोगबाट जोगाउन नेपाल सरकारले दादुरा रुबेला, बिसिजी, जेई, टाइफाइड, पिसिभी, पोलियो, टिडी, डिपिटी हेब्बी हिवलगायतका खोप दिइने गरिन्छ। जन्मेदेखि १५ महिनाभित्र यी खोप लगाइन्छन्। 

स्वास्थ्य महाशाखाका अनुसार नेपालगन्जमा हरेक महिनाको ६ देखि ११ गतेसम्ममा खोप दिने गरिन्छ। यो अभियानमा बालबालिकालाई १३ वटा रोगविरुद्ध नौ प्रकारका खोप लगाइन्छ।