• १४ मंसिर २०८१, शुक्रबार

चितवन राष्ट्रिय निकुञ्ज

व्यवस्थापन गर्न सके बढ्छन् वन्यजन्तु

blog

वसन्त पराजुली 

भरतपुर, जेठ ३ गते । देशकै पहिलो चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदान घट्दै जाँदा वन्यजन्तुको सङ्ख्या भने बढ्दै गएको छ। यद्यपि व्यवस्थापन गर्न सके निकुञ्ज र यसको आसपासमा रहेको मध्यवर्ती क्षेत्रले हाल भएको वन्यजन्तु दोब्बरभन्दा बढी धान्न सक्ने क्षमता राख्छ। 

जैविक विविधता संरक्षणविज्ञ डा बाबुराम लामिछाने चितवन राष्ट्रिय निकुञ्ज र यसका आसपासका वन क्षेत्रमा घाँसे मैदान र पानीको व्यवस्थापनमा सुधार ल्याउने हो भने जनावर  दोब्बर वृद्धि भए पनि समस्या नहुने बताउनुहुन्छ। लामिछानेले भन्नुभयो, “निकुञ्ज र यस वरपरका वन क्षेत्रको क्षमता अनुसार अझै पनि वन्यजन्तु वृद्धि हुन सकेको छैन।” 

लामो समय राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा प्रमुख भएर हालै निवृत्त हुनुभएका लामिछानेका अनुसार अहिले जे जति जनावर छन् त्यसमा बाघबाहेक अन्य जनावर दोब्बर वृद्धि गर्न सकिन्छ। उहाँले भन्नुभयो, “त्यति हो घाँसे मैदान र पानीको व्यवस्थामा सुधार गर्न जरुरी छ।”

चितवन राष्ट्रिय निकुञ्जका संस्थापकमध्येका एक विज्ञ रामप्रित यादव पनि घाँसे मैदान र सिमसार क्षेत्रकै व्यवस्थापनमा जोड दिनुहुन्छ। 

उहाँले भन्नुभयो, “पोसिलो आहारा (घाँस) र पानी प्राप्त भयो भने जनावरलाई पुग्छ। अहिले जुन मात्रामा सङ्ख्या बढेको छ। अझै बढाउन सकिन्छ।” गैँडा जस्ता जनावरका लागि आहाल खेल्ने घोलसमेत आवश्यक पर्ने उहाँले जनाउनुभयो। 

बढ्दै वन्यजन्तु 

प्राप्त एक तथ्याङ्कअनुसार ९५२ वर्ग किलोमिटर क्षेत्रफल भएको निकुञ्ज र ७५० वर्ग किलोमिटर क्षेत्रफल भएको यसको मध्यवर्ती क्षेत्रमा ६४ किसिमका स्तनधारी जनावर छन्। छ सय प्रजाति चरा, ५९ किसिमका उभयचर तथा सरिसृप, १२० प्रजातिका माछा छन्। यस्तै ५० किसिमका घाँस, १६ किसिमका सुनगाभा, ७३ किसिमका उन्यु, सयभन्दा बढी प्रकारका वनस्पति यो निकुञ्जका गहना हुन्। 

सन् २०१८ को गणना अनुसार निकुञ्जमा मृग जरायो जस्ता बाघका आहाराजन्य जनावर प्रतिवर्ग किलोमिटरमा ७०.७ घनत्व थियो। यो सङ्ख्या सन् २०२२ को गणनामा बढेर ९९.७ पुगेको छ। 

यस्तै घाँस नै खाने दुर्लभ वन्यजन्तु एकसिङे गैँडाको सङ्ख्या पनि चितवनमा बढ्दो छ। सन् १९६६ मा सयका हाराहारीमा रहेका गैँडा व्रmमशः बढ्दै गएर सन् २०२१ को गणनामा ६९४ पुगेको छ।  निकुञ्जका अनुसार वन्यजन्तुको सङ्ख्या बढ्दै जाँदा घाँसे मैदानको अवस्था भने घट्दै गएको छ। 

घाँसे मैदान व्यवस्थापनमा कमजोरी  

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारी वन्यजन्तु बढ्दै गएका बेला निकुञ्जमा भने घाँसे मैदान घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुहुन्छ। उहाँले थप्नुभयो, “हामी (निकुञ्ज) मा २० प्रतिशतसम्म घाँसे मैदान थियो अहिले त्यो १० प्रतिशतमा झरेको छ। घाँसे मैदान घट्दै जाँदा गैँडा, मृग, जरायो जस्ता घाँस खाने जनावरहरू भने बढेर जानु चिन्ताको विषय हो।” 

एक हजार वर्ग किलोमिटर क्षेत्रफल भएको भारतको काजिरङ्गा राष्ट्रिय निकुञ्जमा ६३.६ प्रतिशत घाँसे मैदान रहेको उल्लेख गर्दै उहाँले यो क्षेत्रमा गैँडाको सङ्ख्या दुई हजार छ सय रहेको पनि जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “काजिरङ्गामा नदी, घोल, घाँसे मैदान र जङ्गल गैँडालगायतका जनावरका लगि उपयुक्त छ, हाम्रोमा चुरे जस्ता भिराला पहाड धेरै हुँदा पनि घाँसे मैदान व्यवस्थापनमा समस्या छ।” निकुञ्जले हरेक वर्षजसो घाँसे मैदान व्यवस्थापनमा लाखौँ बजेट खर्च गरिरहेको पनि उहाँले जनाउनुभयो। 

घाँसे मैदान व्यवस्थापनकै लागि निकुञ्जले आर्थिक वर्ष २०७७/७८ मा सात सय हेक्टर, २०७८/७९ र २०७९/८० मा ५०/५० हेक्टरमा बजेट खर्च गरेको छ।  

राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक डा नरेश सुवेदी अहिले घाँसे मैदान व्यवस्थापनमा भइरहेको खर्च र कार्यले घाँसे मैदान सुधार हुन नसक्ने दाबी गर्नुहुन्छ। 

“सरकारी बजेट चैत वैशाखमा निकासा हुन्छ अनि ठेक्का लागेर कलिलो घाँस आउने सिजनमै घाँसे मैदान व्यवस्थापन गर्ने गरिएको छ। उहाँले भन्नुभयो, “यो उल्टो काम हो। हामीले कम्तीमा पनि वर्षको तीन पटक घाँसे मैदान व्यवस्थापन गर्नुपर्छ। साउन भदौमा एक पटक,  कात्तिक–मङ्सिरमा दोस्रो पटक र माघ फागुनमा तेस्रो पटक बुढो घाँस काटेर फाल्न सक्यौँ भने सधैँ हरियो कलिलो र पोसिलो घाँस जनावरले खान पाउँछ।” 

घाँसे मैदानमा टेक्टरले काटेर वा बढीभन्दा बढी चर्ने जनावर चराएर पनि घाँसे मैदानको व्यवस्थापन गर्न सकिने उहाँले बताउनुभयो। उहाँले घरेलु गाईभैँसी चराएर पनि बुढा घाँसको नियन्त्रण गर्नुपर्ने बताउनुहुन्छ। 

निकुञ्जका सूचना अधिकारी भने नारायणी, राप्ती, रिउ जस्ता नदीमा बर्सेनि आउने बाढीले पनि घाँसे मैदान नोक्सान गरिरहेको बताउनुहुन्छ। यसका साथै वनमारा झारको नियन्त्रण पनि चुनौतीपूर्ण छ। विज्ञ बाढीले पारेको नोक्सानीलाई व्यवस्थापन गर्दै वनमारा झार र झाडी बुट्यान काट्ने कार्यले पनि घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने बताउँछन्। 

निर्देशक सुवेदी भन्नुहुन्छ, “घाँसे मैदानको व्यवस्थापनसँगै सिमसार क्षेत्र र घोलहरूको संरक्षण गरेर पानीको व्यवस्थापन गर्न सक्ने हो भने चितवन निकुञ्जमा अहिलेको दोब्बर जनावर बढाउन र टिकाउन सकिने छ।”