• १४ वैशाख २०८१, शुक्रबार

एचपिभीविरुद्धको खोप ल्याइँदै

blog

काठमाडौँ, जेठ ३ गते । सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप ल्याउन लागेको जानकारी दिनुभयो । उहाँले एचपिभी खोप सुरुमा परीक्षणका रूपमा १५ वर्षसम्मका किशोरीलाई लगाइने जानकारी दिनुभयो । 

आगामी असारसम्ममा सिकोलिन नामक २० हजार भायल खोप भित्रिने छ । सुरुमा थोरै भायल भएकोले परिवार कल्याण महाशाखाको निर्णय अनुसार उक्त खोप वितरण हुने छ । परिवार कल्याण महाशाखाको खोप शाखा प्रमुख डा अभियान गौतमले २० हजार भायल एचपिभी खोप ल्याउनका लागि सम्झौता भइसकेको जानकारी दिँदै कुन कुन जिल्लामा खोप लैजाने भन्ने निर्णय भइनसकेको बताउनुभयो ।

 यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मान्यता प्रदान गरेको खोप हो । नेपालमा अहिले यसको मूल्य प्रतिएक भायलको छ हजार २४० रुपियाँ तोकिएको छ । क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले सरकारले एचपिभी खोपलाई नियमित खोपमा समावेश गर्नुपर्ने बताउनुभयो ।   

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।