• १५ वैशाख २०८१, शनिबार

फोटो हेरेर महिला आयोगका अध्यक्ष भावुक बनेपछि...

blog

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली फोटो प्रदर्शनीको अवलोकन गर्नुहुँदै । तस्बिर : कविता थापा

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २ गते । राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र सदस्य सावित्री कुमारी शर्माले गोरखापत्र संस्थानमा राखिएका ऐतिहासिक फोटो प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।  

गोरखापत्र प्रकाशनको १२३औँ वर्ष प्रवेश तथा गोरखापत्र संस्थानको ६१औँ वर्ष प्रवेशका अवसरमा वैशाख २४ गतेदेखि जारी फोटो प्रदर्शनीको मङ्गलबार गोरखापत्र संस्थानमा आई फोटो प्रदर्शनी अवलोकन गर्नुभएको हो । 

उहाँले प्रदर्शनीमा राखिएका फोटोहरूको अवलोकन गर्ने क्रममा मरीचमान सिंह प्रधानमन्त्री हुँदा नेपाल भारतबीचको सम्बन्ध बिग्रेको समयमा बङ्गलादेशबाट विमान चार्टर गरेर ल्याएको इन्धन वितरण गरेको फोटोले भावुक बनाएको उल्लेख गर्नुभयो ।

अध्यक्ष पराजुलीले फोटो प्रदर्शनीले इतिहासको गर्भमा रहेका महत्त्वपूर्ण तथ्यलाई आजको पुस्तालाई समेत जानकारी दिने र असल कामहरू चिरस्थायी हुन्छन् भन्ने सन्देश दिन सफल भएको पनि बताउनुभयो ।


अध्यक्ष पराजुलीले पम्फा भुसाल, डा. बाबुराम भट्टराईलगायतका नेता आन्दोलनमा हिँडिरहनु भएको फोटो देखेपछि नेत्री भुसाल भूमिगत हुनुभन्दा अगाडि आफूले लामो अन्तर्वार्ता लिएको स्मरण गर्नुभयो ।  साथै विभिन्न समय र क्षेत्रमा योगदान पुर्‍याउनुभएका व्यक्तित्वका फोटो र स्लाइडहरू हेर्ने अवसरका लागि उहाँले गोरखापत्र संस्थान परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो । 

आयोगका सदस्य सावित्रीकुमारी शर्माले फोटो प्रदर्शनीको अवलोकन गर्दै गोरखापत्र संस्थानमा २०३० देखि २०६० सालसम्मका ऐतिहासिक फोटो प्रदर्शनी महत्त्वपूर्ण दस्ताबेजहरूको सङ्ग्रह नै रहेका अनुभव भएको बताउनुभयो । 

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरी (बायाँ) राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली र सदस्य सावित्री कुमारी शर्मालाई मायाको चिनोस्वरुप गोरखापत्रको पहिलो अङ्क प्रदान गर्नुभएपछि सामूहिक तस्बिरमा ।