• १२ साउन २०८१, शनिबार

फेक अडियो बनाएर मेरो चरित्र हत्या गरियो : सांसद आरजु राणा

blog

सङ्घीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बसको प्रतिनिधिसभा बैठकमा मन्तव्य राख्नुहुँदै सांसद डा‍ आरजु राणा देउवा । तस्बिर : किरणराज विष्ट/रासस

काठमाडौं, जेठ १ गते । नेपाली कांग्रेसकी डा‍. सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई जोडेर चरित्र हत्या गरिएको बताउनु भएको छ । सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्नु हुँदै सांसद राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा फेक अडियो बनाएर आफ्नो चरित्र हत्या गरिएको बताउनुभएको हो ।

‘‘आज म यहाँ उपस्थित भएको त सबैले देखिरहनु भएकै होला ।  म फिजिकल फर्ममा यहाँ छु ।  म यसपटक के पनि भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्यूज र फेक मिडियाको एउटा पराकाष्ठ पुगिसकेको रहेछ । म त्यति सोसल मिडियामा एक्टिभ छैन । तर यो देख्दा चाहिँ मलाई के लाग्यो भने हाम्रो देशमा हुने फेक मिडियाको कुनै न कुनै किसिमले सरकारको सुपरभिजन हुनुपर्‍यो ।,’’ सांसद राणाले भन्नुभयो, ‘‘मैले छ दिन अगाडि फेक अडियो मेरो नाम लिएर बनाइएको भुटानी शरणार्थी प्रक्रियामा संलग्न भनेर बनाइएको फेक अडियो मैले फरेन्सिक टेस्टका लागि सिबिआई र साइबर क्राइम सेलमा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । यहाँ साथीहरूले विश्वास गर्नुहुन्न होला ।’’

उहाँले सो अडियो छानबिन गरेर सत्यतथ्य पत्ता लगाउन प्रहरीमा निवेदन दिएको भए पनि हालसम्म छानबिन नभएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले महिलाहरूलाई राजनीतिमा आउँदा अनेकौँ कुरा व्यहोर्नुपर्ने उल्लेख गर्दै यस्तो व्यवहार अन्य महिलाहरूप्रति नगर्न आग्रह पनि गर्नुभयो । सांसद राणाले भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको टेपको सत्यतथ्य उजागर गर्न माग गर्नुभयो ।

‘‘सत्ता पक्षको यत्रो ठूलो नेताको श्रीमती भनेर । तीन घण्टा लाग्यो त्यो दर्ता गराउन । त्यसको जवाफ म गृह मन्त्रालयबाट सिक गर्न चाहन्छु । अलमल किन थियो दर्ता गर्न ? छ दिन हुँदा पनि यो फेक हो कि होइन ? भनेर किन बताउन सकेको छैन ? अरूजस्तै म त झनै आतुर छु, फेक अडियो मेरो मात्रै बनेको होइन । अरू अरूको पनि बनेको छ तर नाम मेरो मात्रै उच्चारण किन हुन्छ ?,’’

उहाँले भन्नुभयो, ‘‘म साँच्चै भन्ने हो भने एज अ वुमन यो एउटा क्यारेक्ट असानीसेसन होइन । दिस इज अ रेप अफ माइ क्यारेक्टर । र म यो एकदम कडाइका साथ भन्छु महिलालाई राजनीतिमा आउँदा खेरी सबै कुरा हामीले व्यहोर्न सक्नुपर्छ । म व्यहोरिरहेको छु । तर यस्तो किसिमको कदम सबै महिलाप्रति नगरियोस् यो देशमा । यो भन्दा अगाडि पनि धेरै महिलालाई आत्महत्या गर्न फोर्स गरेको छ मिडियाले । सरकारले यो टेपको सत्यतथ्य उजागर गरोस् । अरू जसको नाम आएको छ को दोषी हो ? को होइन प्रष्टका साथ आउनुपर्छ ।’’

सांसद राणाले देशमा गलत समाचार र फेक मिडियाको पराकाष्ठा पुगिसकेको भन्दै सरकारले अनुगमन गर्नुपर्ने बताउनुभयो ।