• २३ वैशाख २०८१, आइतबार

नक्कली भुटानी शरणार्थी सामान्य भ्रष्टाचार नभई देशद्रोह हो : सांसद यादव

blog

जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादव ।

काठमाडौं, जेठ १ गते । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्नुहुँदै सांसद यादवले सो प्रकरणका दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि सम्बन्धित सबै पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो ।

सांसद यादवले यो प्रकरणले सिङ्गो राजनीतिक वृत्तमा नै अविश्वासको वातावरण सृजना गरिरहेको उल्लेख गर्नुहुँदै त्यसलाई त्यही रूपमा लिई अनुसन्धानको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो ।

‘‘अहिले सर्वाधिक चर्चाको विषय रहेको नक्कली भुटानी शरणार्थी प्रकरण छ । यसलाई सामान्य भ्रष्टाचार हो भन्ने भाष्य निर्माण गर्न खोजिदैछ । त्यसैले यो सामान्य भ्रष्टाचार होइन । यो देशद्रोह हो । यसले आज सबै राजनीतिक वृत्तमा एउटा अविश्वासको वातावरण सृजना गरेको छ ।,’’ सांसद यादवले भन्नु भयो, ‘‘यसलाई त्यही रूपमा लिई यो राष्ट्र द्रोह हो । त्यही रूपमा लिई यसलाई दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि सरोकारवाला पक्षले सक्रियतापूर्वक ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । साथसाथै अहिले जसरी ठूला दलका नेताहरू दिनहुँ भेटिरहेका छन् । र आम जनमानसमा एउटा शङ्का निर्माण हुने अवस्था सृजना भएको छ ।’’

सांसद यादवले सो प्रकरणलाई निस्तेज पार्न ठूलो दलका नेताहरू सक्रिय भइरहेको आशङ्का पनि व्यक्त गर्नुभयो ।