नेपाल जस्तै आर्थिक अवस्थामा रहेका सिङ्गापुर, दक्षिण कोरिया, मलेसिया जस्ता राष्ट्र आज एसियामा धेरै सम्पन्न र प्रशन्न छन् । हामी अहिलेसम्म स्थायित्वका लागि चिन्ता गरिरहेका छौँ । समस्या धेरै छन् र समाधानका उपाय पनि छन् । सिङ्गापुरले धेरै सालसम्म मलाया (मलेसिया) बाट हेपिनु परेको इतिहास छ ।
लि क्वान युले सन् १९६५ मा सिङ्गापुरको बागडोर सम्हाल्दा भनेका थिए, राष्ट्र सर्वोपरि हुन्छ । तसर्थ सिङ्गापुर सक्षम, स्वावलम्बी, समर्थ र आत्मनिर्भर नभएसम्म हक/अधिकार वा बाँकी कुरा महìवहीन हुन्छन् । युवक नेता लि क्वान युलेले आर्थिक विकासका कार्यव्रmम ल्याए । जनताले उनलाई तीस वर्षभन्दा धेरै पदमा बसाए । वृद्ध भएपछि उनले बिदा लिए । मलेसियामा महाथिर महमदले बाईस वर्ष सरकार चलाए । जनताले उनलाई अत्यधिक रुचाउने प्रमुख कारण थिए, उनको इमानदारी, विकासप्रतिको समर्पण र अठोट ।
लामो कालखण्डसम्म सरकार चलाउनु एउटा कुरा, जनता र राष्ट्र उठाउन नवीन कार्यव्रmम, जनसहभागिता र स्पष्ट मार्गचित्र दिनु अर्को कुरा । संयुक्त अरब इमिरेट्सका सबै राष्ट्र सम्पन्न छन् । दुबई संसारमै आकर्षक सहर भएको छ । हिजोका धेरै धनी राष्ट्रलाई पछ्याउँदै हिँड्ने क्रममा केही दरिद्र राष्ट्र सफल र असल सिद्ध भएका छन् ।
राजनीतिज्ञ र जनताको सहकार्य भए पनि स्थिरता नभएको खण्डमा राष्ट्र गतिहीन बन्दै जान्छ । यसकारण, सबै भौतिक कुराले परिपू्र्ण भए पनि स्थायित्व, शान्ति र समृद्धिका लागि राजनीति परिष्कृत हुनैपर्छ । यमन, सोमालिया, दक्षिणी सुडान, सिरियालगायतका राष्ट्र अन्तर्राष्ट्रिय अन्वेषणका मापदण्ड अनुसार धेरै राजनीतिक अस्थिरता हुनेहरूमा दर्ता भएका छन् । यसमा नेपालको स्थिति पनि सन्तोषजनक देखिँदैन ।
न्युजिल्यान्ड, आयरल्यान्ड, अस्ट्रिया, डेनमार्क, नर्वे, स्वीडेन, बेल्जियमलगायतका राष्ट्र सुरक्षित, समृद्ध, शान्त र प्रशन्न हुनुको मुख्य कारण स्थायित्व नै हो भन्ने प्रसिद्ध कूटनीतिज्ञले लेखेका छन् । जोन स्पासिटीले अप्रिल २४, २०२१ मा प्रकाशित गरेको आलेखमा सुशासन नै स्थायित्वका लागि अपरिहार्य हुन्छ भनिएको छ ।
यस्तै, राज्य संयन्त्रको पारदर्शी र इमानदारी, राष्ट्रिय सुरक्षा, जनता र सरकारबिच पारस्परिक विश्वास तथा सहयोग पनि स्थायित्वका लागि अनिवार्य हुन्छन् भनिएको छ । कुन दल वा व्यक्ति असल÷खराब भनेर टिप्पणी गरिरहनुभन्दा उनीहरूले गरेका कर्मले सबै उजागर गरिरहेको हुन्छ ।
जनता सचेत, वस्तुपरक, तटस्थ र विवेकशील छन् भने स्थायित्वका निम्ति उनीहरूले इमानदार, कर्तव्यपरायण, देशभक्त र योग्यलाई जनप्रतिनिधि बनाउने गर्छन् । होइन भने, सुशासन वा यस्ता आकर्षक नारा व्यावहारिक राजनीतिमा साकार हुने सम्भावना रहँदैन । चाणक्य, सुन जु, मेकियाभेली, एरिस्टोटल, प्लेटो, हब्स, लक, रुसो, गान्धी, मण्डेला आदिका बारेमा लामो प्रवचन दिनेहरू जब आचरण र आवरणमा फरक देखिन्छन्, तब राष्ट्र र जनतामाथि घात गर्नेहरू चिन्न मुस्किल हुँदैन ।
आजका नेपाली युवामा अभूतपूर्व चेतना बढेको पाइन्छ । उनीहरू मध्ये धेरै योग्य र शिक्षित राष्ट्र हाँक्न सक्ने भइसकेका छन् । तसर्थ, झुक्याएर, अल्मल्याएर वा “हामी नै निर्विकल्प हौँ” भनेर समयको दुर्दमनीय प्रवाह रोक्न सकिने अवस्था छैन ।
गँजेडी महाराज भनिने श्री ३ भीमशमशेरलाई उनका मामा डम्बरशमशेर थापाले बिन्तीपत्रमार्फत राम्रा सुझाव दिएछन् । थापाको कथन थियो, “महाराज, दुनियाँमा डेमोक्रेसीको बाढी आयो । हामीले अब त्यो रोक्न खोजेमा त्यही बाढीले बढारेर लैजान्छ ।” नभन्दै, जुद्धशमशेरले प्रजापरिषद्को सामना गर्नु परेको थियोे । पद्मशमशेरलाई शासन सुम्पेर उनी रिडीतिर गए । त्यहाँबाट देहरादून पुगे । उतै उनको प्राण गयो ।
समयको पदचाप समयमै सुन्न नसक्नेको पतन हुन्छ भन्ने उदाहरण इतिहासमा प्रशस्तै छन् । परिवर्तन भयो भनिएको फ्रान्सेली राज्यव्रmान्ति दुर्घटनामा परेपछि नेपोलियन सत्तामा पुगे । स्वतन्त्रताको उन्मादमा बाटो भुलेपछि केही राष्ट्र टुव्रिmएर गए । सन् २०११ मा सुडान दुई फ्याक भयो । इन्डोनेसियाबाट इस्ट टिमोर बन्यो । इथियोपिया कहिले पराधीन नभएको प्राचीन राष्ट्र, पछिल्ला वर्षमा बढेको अस्थिरताले उसकै गर्भबाट इरिट्रिया नामक नयाँ राष्ट्र जन्मियो ।
अथर्ववेद, महाभारत वनपर्व, पुराणको हिमवतखण्ड, कल्हणको राजतरङ्गिणी ग्रन्थ, गोपाल वंशावली आदिलाई आधार मानेर विद्वान्हरूले ऊबेला सुशासन र स्थायित्व भएको वर्णन गरेका छन् । राजधर्म शासनको मुख्य निर्देशक थियोे । तत्सम्बन्धी ग्रन्थ र आचारसंहिता धर्मशास्त्रमा आधारित हुन्थे । राजनीतिक स्थायित्वका विषयमा ऋग्वेदमा चर्चा गरिएको कुरा भारतका पूर्वसभामुख डा. बलराम जाखडको ‘पिपुल एन्ड पार्लियामेन्ट’ नामक ग्रन्थमा लेखिएको छ । उनले संसद्को बारेमा ऋग्वेदमा भएको लेखेका छन् ।
सरकार, संसद् र न्यायपालिकाको काम, कर्तव्य र अधिकारबारे प्राचीन ग्रन्थमा चर्चा पाइन्छ । राजकाज सञ्चालनमा कुनै भ्रम, अलमल र विग्रह वा अन्योल नहोस् भनेर के गर्ने र के नगर्ने भन्ने विधान बनाइएको पाइन्छ ।
राजा शक्तिशाली हुने पौराणिक कालमा उनले पनि बेथिति फैलिने कुनै काम नगरुन् भनेर राजसभाको सल्लाह अनुसार मात्रै निर्णय गर्ने बाध्यात्मक व्यवस्था बनाइएको थियो ।
चार्वाक ऋषि विद्वान् थिए । ‘प्रत्यक्षम् किम् प्रमाणम्’ (जो प्रत्यक्ष छ, त्यसलाई के प्रमाण चाहिन्छ) भन्ने उनको तर्क अकाट्य छ । उनले एउटा भुल गरे, त्यो तत्कालीन मान्यता र परम्पराविरुद्ध थियो । स्वर्ग, नर्क सबै फाल्तु कुरा हुन्, यसकारण ऋण गरेर भए पनि घिउ खाऊ भने उनले । धेरैलाई त्यो मन परेन । धर्मराज युधिष्ठिरकै सामुन्ने उनलाई कुटीकुटी मारियो । समाजमा अराजकता र अस्थिरता फैलाउन खोजेको भन्दै ज्ञानीहरू मिलेर उनलाई कपुत घोषणा गरे ।
चार्वाकको मत स्वीकार गरेर ईश्वरको निन्दा गरेको, समाज भाँडेको र हजारौँ साल पुरानो धर्म, परम्परा र संस्कृति मासेर अराजकता, अस्थिरता र विखण्डन गराउन खोजेको भन्दै राजा बेनलाई ऋषिहरूले वध गरे । यी उदाहरण र प्रमाण साक्षी छन्, समाज र राष्ट्र भाँड्ने छुट कसैलाई छैन । त्यस्तै, राजनीतिक वा कुनै स्वार्थका कारणले मूल्यमान्यता मास्न पाइँदैन । राजनीतिक वा कुनै किसिमको अस्थिरता कसैले स्वीकार्ने कुरै आउँदैन । जनता सचेत भइरहे भने मात्रै राष्ट्र सुरक्षित रहन्छ । राष्ट्रको भविष्य असुरक्षित भएमा सत्तामा पुग्ने र राजनीति गर्ने कुरा स्वतः अर्थहीन हुन्छ ।
राष्ट्र सर्वोच्च र सर्वोपरि हुन्छ भन्नेमा मतभिन्नता छैन । अमेरिका, युरोप, एसिया, अफ्रिका सबैतिर राष्ट्रिय हित र एकताका बारेमा नयाँ ढङ्गले सोच्ने र व्याख्या गरिँदै छ । चीन, अमेरिका, फ्रान्स जस्ता राष्ट्रदेखि लिएर दरिद्र राष्ट्रहरू पनि अस्तित्व, सभ्यता र स्थायित्व बचाउन यत्न गरिरहेका छन् । सबैलाई राष्ट्र प्रिय लाग्छ । जहाँ बसे पनि मानिस सपनामा पनि आफ्नो गाउँ र टोल, वरिपरिका दृश्य देख्छ । मातृभूमि सुरक्षित र शान्त रहोस् भन्ने चाहन्छ ।
राजनीतिक स्थायित्व, समृद्धि, खुसी र एकता एक अर्काका परिपूरक जस्तै छन् । सुखी, शान्त र अत्यन्तै अग्रणी राष्ट्रले प्रगति गर्नुको मुख्य कारकतìव राजनीतिक स्थायित्व नै ठहरिएको छ । गृहयुद्ध, अनिकाल, कलह, झैझगडा वा विखण्डन रोक्ने उपाय पनि स्थायित्व मात्रै हो । हामीले बिर्सन नहुने कुरा, राष्ट्रिय एकता भए मात्रै हाम्रा साझा प्रयास सार्थक हुने छन् ।
लेखक गोरखापत्रका पूर्वप्रधान सम्पादक हुनुहुन्छ ।