• ७ वैशाख २०८१, शुक्रबार

२०१ जनालाई ‘नइ कीर्ति रत्न’ प्रदान

blog

काठमाडौँ, वैशाख ३१ गते । नइ प्रकाशनले साहित्यका विभिन्न विधाका २०१ जना सर्जकहरूलाई ‘नइ कीर्ति रत्न’अलङ्कार प्रदान गरेको छ। नइ प्रकाशनद्वारा शनिबार राजधानीमा आयोजित विशेष समारोहमा देश विदेशमा रहेर नेपाली साहित्य सिर्जनामा लागेकाहरूलाई सम्मानपत्र र पदकसहित नइ कीर्ति रत्न अलङ्कारसहित सम्मान गरिएको हो। 

कार्यक्रममा  नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ(वैरागी काइला), समालोचक वासुदेव त्रिपाठी, प्रा. मुकुन्दशरण उपाध्याय र साहित्यकार भद्रकुमारी घलेले संयुक्त रूपमा पदक तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो। सो अवसरमा साहित्यका विभिन्न विधामा कलम चलाउनुहुने मधुपर्कका नायब कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले, गोरखापत्र दैनिकका पूर्वसम्पादक कमल रिजाल, पत्रकार सुशिला तामाङ, पत्रकार युवराज नयाँघरे, विजयरत्न तुलाधर, विजय हितान, भद्रकुमारी घले, भरत जङ्गम, प्रा.डा.गार्गी शर्मा सम्मानित हुनुभयो। 

त्यसैगरी शताब्दी पुरुष सत्यमोहन जोशी (मरणोपरान्त) यशोदा अधिकारी, रश्मी रिमाल, प्रा.डा. उषा ठाकुर, केदार शाक्य, हिरण्यकुमारी पाठक, हेमा मानन्धर, डा. शैलेन्दुप्रकाश नेपाल, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, मन्जुश्री गिरी, भगवती बस्नेत, जाकिर हुसैन, जैकी मोजाहुलगायत २०१ जना साहित्यकारलाई सम्मान प्रदान गरिएको थियो। सो अवसरमा नइ प्रकाशनले प्रकाशन गरेको दुई कृतिहरू ‘नइ कीर्ति लय र नइ प्रकाशनः कीर्ति र आकृति’ शीर्षकका पुस्तक पनि लोकार्पण गरिएको छ। भगवती बस्नेतले सम्पादन गर्नुभएको उक्त कृतिमा विभिन्न विधाका साहित्यकारका रचना समावेश गरिएका छन्। 

कार्यक्रममा नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँले  नेपाली साहित्यको भण्डारलाई सम्पन्न बनाउन कलम चलाउनुहुने सर्जकलाई नइ प्रकाशनले सम्मान स्वरूप नइ कीर्ति रत्न अलङ्कार प्रदान गरिएको बताउनुभयो। नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले सो प्रकाशनका कीर्तिहरूको गरिमा र महिमाको अभिवृद्धिका लागि रचना प्रदान गर्नुहुने सर्जकको योगदानको विशेष कदर गर्दै आएको बताउनुभयो।