• ११ वैशाख २०८२, बिहिबार

महाकालीमा बेवारिसे अवस्थामा पुरुषको शव फेला

blog

लोकेन्द्र जोशी
दार्चुला, वैशाख ३० गते । 
दार्चुलामा बेवारिसे पुरुषको शव फेला परेको छ । शनिबार बिहान साढे ८ बजेको समयमा महाकाली नगरपालिका –५ नमस्कारस्थित महाकाली नदीको बीच भागमा ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको हो ।

नामथर, वतन र उमेर समेत नखुलेका अन्दाजी ३०/३५ वर्षको पुरुषको शव महाकालीमा फेला परेको जानकारी प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले शव महाकाली नदीबाट निकाली शवको मुचुल्कासहितको प्रारम्भिक अनुसन्धान कार्य पूरा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उहाँले ती पुरुषको शव जिल्ला अस्पताल दार्चुलाको शव गृहमा राखिएको जानकारी दिनुभयो हुँदै हालसम्म शवको सनाखत हुन नसकेको बताउनुभयो ।

मृतकको ट्र्याकको खल्तीमा अन्जनी टुर एण्ड ट्राभल्स (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरिद्वार, देहरादुन, दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ । थप जानकारीका लागि जिल्ला प्रहरी कार्यालयको मोबाइल नम्बर ९८५८७८३५५५ मा सम्पर्क गर्न सरोकारवालालाई प्रहरीले अनुरोध गरेको छ ।