• १२ पुस २०८१, शुक्रबार

विद्यालयको ढोका फोडेर कम्प्युटर चोरी

blog

हरिपूर्वा नगरपालिका –३, धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा बिहीबार राति चोरी भएपछि सुरक्षाकर्मीले अनुसन्धान गर्दै ।

जनार्जन खत्री

सर्लाही, वैशाख २९ गते । सर्लाहीको हरिपूर्वा नगरपालिका –३, धनकौलमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा बिहीबार राति चोरी भएको छ । ढोकाको चुक्कुल फोडेर भित्र रहेका कम्प्युटर र अन्य सामग्री चोरी भएको प्रधानाध्यापक हरिनारायण महतोले जानकारी दिनुभयो । 

अज्ञात व्यक्तिले विद्यालयभित्र रहेको १० थान कम्प्युटर र खेलकुद सामग्री चोरेर लगेका छन्् । शुक्रबार बिहान पठनपाठनका लागि विद्यालयमा पुग्दा कोठाको चुक्कुल बङ्ग्याएर भित्रका सरसामग्री चोरी गरेर लगेको पत्ता लागेको विद्यालयको भनाइ छ । विद्यालयबाट करिव १५ लाख रुपियाँ बराबरको कम्प्युटर र खेल सामग्री चोरी भएको प्रधानाध्यापक महतोले बताउनुभयो । 

विद्यालयमा भएको यो चोरीको घटनाले स्थानीयहरु निराश भएका छन् । प्रहरीले चोरीको घटना सम्वन्धमा अनुसन्धान भइरहेको जनाएको छ । हरिपूर्वामा एक भारतीय युवकको हत्या भएको एक दिनपछि सामुदायिक विद्यालयमा चोरी भएको छ । 

बुधबार साँझ हरिपूर्वा नगरपालिका –१, स्थित पथरापुलमा एक भारतीय युवकको टाउको छिनाएर हत्या भएको अवस्थामा शव फेला परेको थियो । प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी घटनाको सम्वन्धमा पनि सुक्ष्म ढङ्गले अनुसन्धान जारी राखेको जनाएको छ । 

नगरपालिकाभित्र एकपछि अर्को आपराधिक घटना भएको भन्दै स्थानीयले भरपर्दो शान्ति सुरक्षाको माग गरेका छन् ।