नारद कोहार
तौलिहवा, वैशाख २९ गते । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विद्युतीय राहदानीका लागि विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको छ । राहदानी लिनका लागि सेवाग्राहीको चाप बढेपछि प्रशासन कार्यालय कपिलवस्तुले विहान ७ बजेबाटै सेवा दिन सुरु गरेको हो ।
कार्यालयले हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको हो । प्रशासन कार्यालयले वैशाख २९ गतेबाट बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हरेक दिन दुई सिफ्टमा राहदानीको सेवा समय विस्तार गरेको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले पहिलो सिफ्ट बिहान ७ बजेदेखि ११ बजेसम्म र अर्को सिफ्टले ११ बजेदेखि ६ बजेसम्म सेवा दिने बताउनुभयो । उहाँले भन्नुभयो, "सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०–५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको छ ।" प्रशासन कार्यालयले राहदानीको प्रत्यक्ष अनलाइन आवेदन फर्म भरिदिने व्यवस्था समेत कार्यालय भित्र मिलाएको प्रजिअ आचार्यले बताउनुभयो ।
सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय वाणिज्य बैंकको विस्तारित सेवा संचालनको तयारी भएको प्रजिअ आचार्यले बताउनुभयो । उहाँले यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुरेको झन्झट समेत कम हुने बताउनुभयो । सेवाग्राहीको चापलाई ध्यानमा राखी कार्यालयले शानिवार बाहेक अन्य सार्वजनिक विदाका दिन उल्लेखित सेवा प्रवाह गरिने विषयमा सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
सेवाग्राही स्वयमले विगतका दिनमा विचौलियामार्फत उक्त फर्म भरी कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रेहको थियो । बाहिरबाट राहदानी फाराम भर्दा सेवाग्राहीले दुःख पाएको र दुर्य हजार रुपियाँदेखि छ हजारसम्म असुल्ने गरेको गुनासो आएपछि कार्यालयबाट निःशुल्क रुपमा फर्म भरिदिने व्यवस्था मिलाइएको सहायक प्रजिअ अनिल पौडेलले बताउनुभयो । चाप कम भएपछि पुनः कार्यालय समय मै सेवा दिने उहाँको भनाइ छ ।