• १३ मंसिर २०८१, बिहिबार

मकैको खोसेलाबाट आकर्षक सामग्री

blog

अमरराज नहर्की

तनहुँ, वैशाख २९ गते । गाईवस्तुलाई खुवाउन प्रयोग हुँदै आएको मकैको खोसेलाबाट तनहुँका महिलाले आकर्षक घरायसी सामग्री उत्पादन गर्न थालेका छन् ।नगरपालिकाले उपलव्ध गराएको तालिमबाट व्यास नगरपालिका-५ का २५ जना महिलाहरुले आकर्षक किसिमका घरायसी सामग्री उत्पादन गरी विक्री वितरण सुरु गरेका हुन् ।

स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ वडा कार्यालयले मकैको खोसेलाबाट घरायसी काममा उपयोग हुने सामग्री उत्पादन सम्विन्ध एकमहिने तालिम प्रदान गरेको हो । मकैको खोसेलाबाट महिलाले उत्पादन गरेका घरेलु सामग्रीको मूल्य निर्धारण तथा वजारीकरणमा नगरपालिकाले सहयोग गर्ने जनाइएको छ । 

गाउँघरमा उत्पादित कच्चा पदार्थ खेर गइरहेको हुन्छ, कच्चा पदार्थ उपयोग गरी टोपी र झोला विदेश निर्यात गर्दा मुलुकको बिग्रिएको अर्थतन्त्रलाई सहयोग पुग्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । महिलाहरुलाई सीपको माध्यमबाट आत्मनिर्भर बनाउन नगरपालिकाले प्राथमिकता दिएको न्यौपानेले बताउनुभयो । प्लास्टिकजन्य पदार्थको बढी उपयोगले वातावरणमा प्रदूषण बढाउने भएकोले मकैको खोस्टाबाट बनेका वस्तु प्रयोगले वातावरणमैत्री  हुने भएकोले बढी उपयोगी भएकोले यस्ता तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

वडा नम्बर १३ मा खजुरीको पातबाट घरायसी सामग्री बनाउने तालिम प्रदान भइरहेको उहाँले जानकारी दिनुभयो । तालिमपछि महिलाले मकैको खोसेलाबाट झोला, टोपी, फूलदानी, चकटी, पूजाका सामग्री बोक्ने झोलालगायतका सामग्री उत्पादन गर्न थालेका छन् । जिल्लामा घुम्न आउने स्वदेशी पर्यटक तथा दर्शनार्थीले मायाको चिनोका रूपमा खोस्टाको आकर्षक सामग्री खरिद गरेर लैजाने वातावरण बनाउने लक्ष्यका साथ महिलालाई सोसँग सम्वन्धित तालिम दिइएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले बताउनुभयो । मकैको खोसेलाबाट घरायसी सामग्री उत्पादन गरेर व्यवसाय गर्न चाहने महिलालाई नगरपालिकाको तर्फबाट आर्थिक तथा प्राविधिक सहयोग गर्ने व्यवस्था मिलाइएको छ । मकैको खोसेलाबाट निर्माण गरिएका सामग्री जिल्लाका विभिन्न बजार तथा जापान, अमेरिका लगायतको देशमा विक्री गर्ने लक्ष्य राखिएको छ । तालिम प्रदान गर्ने संस्थाले नै बजारीकरणको लागि व्यवस्थापन गर्ने वडा कार्यालयले जनाएको छ ।

तालिमका क्रममा गरिएको प्रतियोगिता प्रथम हुनुभएकी निशा थापा मगरले यस तालिमको प्रशिक्षक बनेर पनि आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । फालिएका वस्तुबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने थाहा पाएअनुसार मकैको खोस्टाबाट टोपी र झोला बनाउन सिकेको र आयआर्जन भइरहेको उहाँले बताउनुभयो । प्रशिक्षणकै अवधिमा पनि बनेका सामग्री विदेश निर्यात गर्न ओम राजश्री मल्टी एग्रोले समन्वय गरिरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

तालिम कार्यक्रममा व्यास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष तथा प्रवक्ता जीवन गुरुङ, वडा नम्बर १३ का वडाध्यक्ष वसन्त आले र कार्यपालिका सदस्य नरीमाया राना, काठमाडौंस्थित ओम राजश्री एग्रो प्रालिका सञ्चालक युवराज गै¥हे लगायतले युवाहरु विदेश जानुपर्ने बाध्यताको अन्त्य गर्न उद्यमशिलताको क्षेत्रमा स्थानीय स्रोत र साधनका अधिकतम उपयोग गरी बजारको वृद्धि गर्न जरुरी रहेको कुरामा जोड दिनुभएको थियो । २५ रुपियाँमा खरिद गरिएको खोसेलाबाट एक हजार दुई सय रुपियाँको टोपी र एक हजार रुपियाँ पर्ने झोला बनाउन सकिने राजश्री एग्रोका सञ्चालक गैर्हेले जानकारी दिनुभयो । 

एक जनाले एक दिनमा एउटा टोपी बनाउन सक्ने हुँदा घरमै बसी बसी महिलाले मनग्य आम्दानी गर्न सक्ने उहाँ बताउनुहुन्छ ।