ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), वैशाख २९ गते । वन्यजन्तु र चराचुरुङ्गीलाई पिउने पानीको व्यवस्था गर्न म्याग्दीका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ । डिभिजन वन कार्यालयले दुई आर्थिक वर्षमा गरेर १६ वटा पोखरी निर्माण गरेको हो । पोखरी निर्माणपछि वनजङ्गलका जनावर र चराचुरुङ्गीका लागि पानी खान सहज हुने विश्वास गरिएको छ । पोखरी निर्माणपछि जङ्गलमा लागेको आगलागी नियन्त्रणमा समेत सहयोग पुगेको छ ।
अघिल्लो आवमा १० र चालु आवमा छ गरी १६ वटा सामुदायिक वनमा वन्यजन्तुका लागि जङ्गलभित्र पोखरी निर्माण गरिएको सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नजिकमा रहेको पानीको स्रोतबाट पानी ल्याएर पोखरी भरिएको छ । वनजङ्गलमा रहेका वन्यजन्तु पानीको खोजीमा मानव बस्तीमा नआऊन् भनेर पोखरी निर्माण गरिएको अधिकृत क्षेत्रीले बताउनुभयो । क्षेत्रीले भन्नुभो, “पानीको खोजीमा वन्यजन्तु मानव बस्तीमा आउने व्रmम बढेका कारण जङ्गलभित्र पोखरी निर्माण बढाएका हौँ । वन्यजन्तुले सहज रूपमा पानी पिउन सक्ने गरी पोखरी निर्माण गरिएको छ ।” पोखरी निर्माणका लागि छनोट भएका सामुदायिक वन उपभोक्ता समितिलाई प्रतिपोखरी एक लाख रुपियाँका दरले बजेट उपलब्ध गराएको उहाँले बताउनुभयो ।
वन कार्यालयका अनुसार यस वर्ष बेनी नगरपालिका–७ को बराहपाखो, धवलागिरि–७ को भगवती महिला, अन्नपूर्ण–८ को घुमाउने कोखेमा पोखरी निर्माण गरिएको हो । मङ्गलाको खुम्लीय, मालिका–६ को दह र रघुगङ्गा–१ को बाँदुक भुमेबराह सामुदायिक वनमा पोखरी निर्माण गरिएको वन कार्यालयले जानकारी दिएको छ ।
पोखरी निर्माणले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा वन्यजन्तुको मानव बस्तीमा प्रवेश कमी हुने विश्वास गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत मनोज रानाभाटले बताउनुभयो । जङ्गलभित्र रहेका पोखरी वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा समेत उपयोगी हुने विश्वास उहाँको छ ।