• १६ असार २०८१, आइतबार

कायस्थको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ।

काठमाडौं, वैशाख २८ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

सभापति देउवाले शोक वक्तव्य जारी गर्नुहुँदै ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुहुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । उहाँले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

निरङ्कुश राजतन्त्रको अन्त्य र लोकतन्त्र बहालीका लागि भएको ऐतिहासिक जनआन्दोलन २०६२/६३ का क्रममा २०६२ चैत्र २७ गते बनेपामा निस्केको र्‍यालीमा सहभागी हुँदा प्रहरीको गोली लागी गम्भीर घाइते हुनु भएका र त्यसपछि सधैँ अर्धचेतन अवस्थामा रहनु भएका ‘जिउँदा शहीद’ को रूपमा चिनिने ३२ वर्षीय मुकेश कायस्थको हिजो (बुधबार) वैशाख २७ गते साँझ शिर मेमोरियल अस्पतालमा निधन भएको थियो ।

कायस्थको निधनप्रति सभापति देउवाले गहिरो दुःख व्यक्त गर्नुहुँदै भन्नुभएको छ, “नेपालको दोस्रो जनआन्दोलनमा १४ वर्षकै उमेरमा लोकतन्त्र बहालीका लागि आफ्नो प्राण जोखिममा राखी होमिनु भएका “जिउँदा शहीद” मुकेश कायस्थको निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ । आज प्राप्त भएको राजनीतिक उपलब्धि उहाँ र उहाँ जस्तै वीर शहीदहरूको अतुलनीय योगदानबाट सम्भव भएको थियो । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नु भएको भूमिका नेपाली इतिहासमा सदा स्मरणीय रहिरहनेछ । उहाँको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।’’