चरीकोट समाचारदाता
चरीकोट, वैशाख २८ गते । दोलखाको उत्तरी उच्च हिमाली भेगमा फ्याउ मुसाको सङ्ख्या वृद्धि भएको छ । तीन हजार मिटरभन्दा माथिको उचाइमा मात्र पाइने यसको सङ्ख्या पछिल्लो समयमा वृद्धि भएको हो ।
विगु गाउँपालिका–१, लाप्चीमा मात्र तीन हजार पाँच सयभन्दा बढी सङ्ख्यामा फ्याउ मुसो (हिमालयन मार्मत) पाइने स्थानीयको दाबी छ । यस जीवले एकै पटक चार पाँच वटा बच्चा जन्माउने भएकाले पनि यसको सङ्ख्या वृद्धि भएको विगु गाउँपालिका–१, लाप्चीका करा शेर्पाले बताउनुभयो ।
मुसा प्रजातिमा पर्ने फ्याउ मुसो नेपाललगायत चीन, भारत र पाकिस्तानका उच्च भूभागमा पाइन्छ । फ्याउ मुसो विशेष गरी चरन क्षेत्रमा बढी मात्रामा पाइने गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका सूचना अधिकारी तुलसीप्रसाद दाहालले बताउनुभयो । चीनको तिब्बतसँग सिमाना जोडिएको नेपाली भूभागमा बढी मात्रामा यसको बसोबास छ । लजालु स्वभावको जीवको रूपमा चिनिने फ्याउ मुसो छ महिनासम्म सुत्ने गर्छ । कात्तिक महिनामा सुनसान वातावरण रहने भएकाले ओढारमा रातदिनै सुत्ने गर्छ । वैशाख जेठमा आकाश गड्याङगुडुङ गर्दा यसको निद्रा भङ्ग हुने भएकाले उठ्ने गरेको शेर्पाले बताउनुभयो ।
फ्याउ मुसो चौँरी, भेडासँगै हिँड्न रुचाउँछ र गाईबस्तुले जस्तै घाँस खान्छ । यसको बथान दैनिकजसो चौँरीसँग घुलमिल हुने गर्छ । लजालु स्वभावको र मानिस तथा बस्तुभाउलाई हानिनोक्सानी नगर्ने भएकाले मान्छेले खासै यसलाई मार्ने, हिर्काउने वा क्षति पु-याउँदैनन् । चीनमा यसको मासु खाने गरिए पनि नेपालमा खाइँदैन ।