• २५ पुस २०८१, बिहिबार

बालश्रम मुक्त वडा घोषणा

blog

बालश्रम मुक्त वडा घोषणा गरिदै । तस्बिर : गोकर्ण पौडेल

गोकर्ण पौडेल  

तुलसीपुर, वैशाख २७ गते । तुलसीपुर उपमहानगरपालिका वडा – १६ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सो वडामा प्रारम्भिक सर्वेक्षणमा ३५ जना बालबालिका श्रममा रहेका थिए । तीमध्ये ३० जना बालबालिकालाई तत्काल परिवारमै पुनर्स्थापना गरिएको छ ।

पाँच जना बालबालिकालाई ती बालबालिकाका परिवारलाई आर्थिक रूपमा सबल बनाउन जीविकोपार्जनका कार्यमा संलग्न गरिएको थियो । वडा १६ का वडाध्यक्ष शिवानन्द डाँगीले ती पाँच जना बालबालिकालाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध गराएर विद्यालयमा भर्ना गरिएको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको वडा १, २, ६ र १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ । सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले पालिकालाई नै बालमैत्री घोषणाको तयारी गरिएको बताउनुभयो । बालमैत्री घोषणाका लागि ५१ सूचकमध्ये बालश्रम मुक्त एउटा सूचक हो । 

नगरप्रमुख टीकाराम खड्काले बालश्रम मुक्त वडा घोषणा गर्नुभएको हो । नगरप्रमुख टीकाराम खड्काले बाल शोषण, श्रम र हिंसा अपराध भएकाले सबैको सहयोग, सहकार्यबाट नै सभ्य समाज निर्माणका लागि बालमैत्री नगर घोषणाको तयारी अघि बढाइएको बताउनुभयो । 

उहाँले सबै बालबालिकालाई विद्यालयसम्म लग्ने वातावरण तयार गरिने बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले शिक्षालाई अनिवार्य, निःशुल्क र सर्वसुलभ बनाउन सदैव तत्पर रहेको बताउनुभयो । कार्यक्रममा बालश्रम मुक्त वडा घोषणा गर्न सहयोग गर्ने सबै टोल विकास संस्था, विद्यालय, सङ्घ संस्थालाई सम्मानपत्र प्रदान गरिएको छ ।