काठमाडौं, वैशाख २७ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार राम्रो गर्ने र राम्रो बाहेक गर्दै नगर्ने बताउनुभएको छ। दिवङ्गत वामपन्थी नेता निर्मल लामाको २३ औँ स्मृति दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘सामाजिक रूपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढाएका छौँ।’’
प्रधानमन्त्रीले निर्मल लामासँगका स्मरणको चर्चा गर्नुभएको थियो। उहाँले भन्नुभयो, ‘‘उहाँहरूलाई नै हेरेर हामी आन्दोलनमा लागेका हौँ। लामाजीका सम्झनाका लागि थुप्रै प्रसङ्ग छन्।’’
उहाँले अहिले परिस्थिति नयाँ बनेको बताउनुहुँदै सामाजिक रूपान्तरणका निम्ति सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रालाई नयाँ ढङ्गले सुरु गर्ने अठोटका साथ अगाडि बढेको स्पष्ट गर्नुभयो।
प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धिका निम्ति इमान्दार क्रान्तिकारी, बुद्धिजीवी, नागरिक समाज लगायत आम श्रमिक जनसमुदायको साथ र सहयोग हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘‘सुशासनको निम्ति हामी गम्भीर भएर जे अठोटका साथ अगाडि बढेका छौँ। लामाजीलाई सम्झिँदै गर्दा उहाँको इमान्दारिता, क्रान्ति निष्ठा, सरलता र पारदर्शी हाम्रा लागि प्रेरणा बन्ने विश्वास व्यक्त गर्न चाहन्छु।’