• १३ मंसिर २०८१, बिहिबार

टिप्परले मोटरसाइकललाई ठक्कर भारतीय नागरिकको मृत्यु

blog

सिराज खान
नेपालगञ्ज, वैशाख २६ गते ।
 नेपालगञ्जमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना भारतीय नागरिकको मृत्यु भएको छ । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका भारत रुपईडिहा रामपुरका २५ वर्षीय सुरेश तेलीको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी रामबहादुर घर्तिमगरका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२२, पुरैनीमा मङ्गलबार दिउँसो १ बजेर ४५ मिनेटमा ना १ ख २२७१ नम्बरको टिप्परले ठक्कर दिँदा युपी ४० जे १२१७ नम्बरको मोटरसाइकलमा रहेका तेली गम्भीर घाइते हुनुभएको थियो ।

मोटरसाइकलमा नेपालगञ्जतर्फ आउँदै गर्नुभएको तेलीलाई नेपालगञ्जदेखि कम्दीतर्फ गइरहेको टिप्परले ठक्कर दिएको थियो ।

निमित्त प्रहरी प्रमुख घर्तिमगरले दुर्घटना लगत्तै तेलीलाई उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको र उपचारकै क्रममा उहाँको निधन भएको जानकारी दिनुभयो ।

उहाँले मृतक तेलीका ससुरालाई दुर्घटनाबारे जानकारी गराइएको र शव पोस्टमार्टमपछि परिवारलाई बुझाइने बताउनुभयो । टिप्पर र चालक बर्दिया मधुवन निवासी प्रेमबहादुर डाँगीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।