• १२ मंसिर २०८१, बुधबार

‘गोरखापत्र नेपाली पत्रकारिताको आधार स्तम्भ’

blog

कार्यक्रमका सहभागी अतिथि। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, वैशाख २६ गते। सुदूरपश्चिम प्रदेशको विकासमा गोरखापत्रको भूमिका महत्वपूर्ण रहेको यस प्रदेशका प्रबुद्ध व्यक्तित्वहरुले बताउनुभएको छ। 

गोरखापत्रको १२३औँ वर्ष प्रवेश तथा संस्थानको ६१औँ वार्षिकोत्सवको अवसरमा गोरखापत्र संस्थान सुदूरपश्चिम प्रदेश कार्यालयले आज धनगढीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँहरुले यस्तो बताउनुभएको हो। गोरखापत्र सरकारी सञ्चार माध्यम रहेकाले विकासमा यसको भूमिका अन्य मिडियाभन्दा अझ बढी रहेको उहाँहरुको भनाइ थियो। 

कार्यक्रममा प्रमुख अतिथि रहनु भएका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलराज ढकालले नेपाली पत्रकारिताको आधार स्तम्भ गोरखापत्र रहेको उल्लेख गर्नुहुँदै सामाजिक र सकारात्मक कुरालाई बढी उजागर गर्न आग्रह गर्नुभयो। 

“नकारात्मक समाचार बढी हुँदा समाज पनि त्यस्तै भयो”, उहाँले भन्नुभयो,“मिडियाले सकारात्मक समाचार दिनुपर्छ। सञ्चार माध्यमले जति सकारात्मक कुरा दिन्छ, समाज पनि त्यति नै सकारात्मक हुँदै जान्छ।”

अहिले पत्रपत्रिका ‘गेस पेपर’ पढे जस्तै लाग्ने गरेको उल्लेख गर्नुहुँदै ढकालले ‘टेस्ट बुक’ पढेको जस्तो लाग्ने बनाउन आवश्यक रहेको सुझाव दिनुभयोे। गोरखापत्रले आफूलाई समय सापेक्ष बनाउन ‘न्यूज’ र भ्यूज’ दुवै दिनु पर्ने उहाँको भनाइ थियो। 

यस्तै, कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विभिन्न बहानामा प्रत्येक पालिकामा सार्वजनिक जग्गा सकिन थालेको उल्लेख गर्नुहुँदै यस्ता घटनालाई उजागर गर्न आग्रह गर्नुभयो। गोरखापत्रले दिने सूचना र समाचार आधिकारिक र विश्वसनीय रहने गरेको सहभागीको भनाइ थियो। भाषा, कला संस्कृति संरक्षणमासमेत गोरखापत्रको चर्चा गर्दै उहाँहरुले आगामी दिनमा अझ परिस्कृत ढङ्गले अगाडि बढ्न सुझाव दिनु भएको छ। 

प्राध्यापक देवराज अवस्थीले गोरखापत्रले विकासमा खेलेको भूमिकाको कदर गर्नुहुँदै व्यावसायिक क्षमता अभिवृद्धि गरेर राज्यले पत्रकारलाई आर्थिक रुपमा सबल बनाउनु पर्नेमा जोड दिनुभयो। 

गोरखापत्रमामात्रै नभइ अरु पनि सञ्चार माध्यममा सामान्य वर्गका कुरा आउनु पर्ने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहको भनाइ थियो। उहाँले बेथितिका कारण प्रदेश सरकारले विगत पाँच वर्षसम्म जति गर्नु पर्ने त्यति काम गर्न नसकेको उल्लेख गर्नुहुँदै बेथितिविरुद्ध पनि कलम चलाउन आग्रह गर्नुभयो। 

जनता, कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच तारतम्य नमिलेका कारण जनताले चाहे अनुरुप प्रदेशमा विकासको जग बस्न नसकेको सहभागीको भनाइ थियो। सञ्चार माध्यमले विभिन्न किसिमको जल्दोबल्दो मुद्दा उठाउँदै आए पनि कार्यान्वयन गर्ने सम्बन्धित निकायबाट सुनुवाइ नहुने गरेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताउनुभयो। उहाँले सुदूरपश्चिम प्रदेशको विकासका लागि गोरखापत्रलेमात्रै नभइ यहाँका सबै सञ्चार माध्यमले राम्रो भूमिका खेलेको उल्लेख गर्नुभयो। 

सहभागीहरुले सुदूरपश्चिम प्रदेशमा थुप्रै सम्भावना रहेको औंल्याउनु भएको छ। त्यस्ता सम्भावनाको उजागर र सदुपयोगका लागि सञ्चार माध्यमले विश्लेषणात्मक र खोजमूलक समाचार सम्प्रेषण गर्नु पर्नेमा जोड दिनुभएको छ। 

प्रविधिमा फड्कोसंगै विभिन्न माध्यमबाट समाचार तत्कालै आउने गरेकाले खास गरेर गोरखापत्र जस्ता प्रिन्ट मिडियाले सम्भावनालाई उजागर गर्ने गरी विश्लेषणात्मक समाचार दिनुपर्ने धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य अनिलकुमार भुजनियाँले औंल्याउनुभयो। त्यस्तै, पर्यटन व्यवसायी मायाप्रकाश भट्टले सुदूरपश्चिममा कृषि, जलस्रोत र पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यसको उजागर गर्न आग्रह गर्नुभयो। 

सुदूरपश्चिमको विकास गर्न छिमेकी राष्ट्रसँग उत्तर–दक्षिणतर्फ कनेक्टिभिटी बढाउनु पर्ने र एउटा अन्तर्राष्ट्रिय विमानस्थल हुन आवश्यक रहेको उहाँको भनाइ थियो। सुदूरपश्चिम प्रदेशमा समस्या र सम्भावना दुवै रहेकाले अब सम्भावनालाई बढी प्राथमिकता दिनु पर्ने कतिपयले जोड दिनु भएको छ। बुद्धिजीवी हरि रेग्मीले सम्भावनाका कुरा उजागर हुनु पर्ने भन्दै विभाजन भएका समाजलाई पनि मिडियाले जोडनु पर्ने उल्लेख गर्नुभयो। ‘‘समाज विभाजित रहेसम्म विकास सम्भव छैन’’, उहाँले भन्नुभयो। 

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रभातकुमार चौधरी, लेखक डिल्लीराज जोशी, सच्चिदानन्द जोशी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिलबहादुर छत्याल, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशी, पत्रकार भावना जोशीले मन्तव्य राख्नुभयो। 

उहाँहरुले मुलुकमा धेरै परिवर्तनको साक्षी गोरखापत्र रहेको बताउनुभएको छ। समग्र पत्रकारिताको विकासमा गोरखापत्रले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्नुहुँदै गोरखापत्रले खोज पत्रकारिता गर्नुपर्ने औंल्याउनु भएको छ। गोरखापत्रले विभिन्न मातृभाषा पेज प्रकाशन गर्दा अपनत्व महसुस भइरहेको भन्दै अहिले धेरै कुरा गोरखापत्रले समेटिरहेको उहाँहरुको भनाइ थियो। गोरखापत्र सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख कृतबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश संयोजक प्रकाशविक्रम शाहले गर्नुभएको थियो।