काठमाडौं, वैशाख २६ गते । पाल्पाको रानीमहलमा हुने राष्ट्रिय पुरुष बीच भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ ।
आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । वैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरी १० टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी, गण्डकी, मधेश, बागमती प्रदेश, एपीएफ, आर्मी, पुलिस र सह–आयोजक पाल्पा जिल्ला भलिबल सङ्घको टिम सहभागी हुनेछन् ।
लिग र नकआउट आधारमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन वैशाख २८ गते दिउँसो १ बजे हुने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले जानकारी दिनुभयो । आयोजकका अनुसार बिहीबार साँझसम्म प्रतियोगितामा सहभागी हुने सम्पूर्ण टिम र अफिसियल तानसेन पुग्नेछन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित १ लख ५० हजार, उपविजेता टिमले १ लाख, तेस्रो हुनेले ५० हजार र सान्त्वना टिमले २५ हजार रुपियाँ पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा जनसहभागिता बढाउन अन्तिम दिन वैशाख ३० गते बिहान रानीमहल दौडको समेत आयोजना गरिने भएको छ । सो दौडमा पाल्पाका स्थानीय सहित विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोग र नेपाल भलिबल सङ्घबाट स्वीकृतिमा आयोजित प्रतियोगिता नेपालको बीच भलिबलको विकास र पाल्पाको ऐतिहासिक दरबार क्षेत्र रानीमहलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको हो ।