• २४ पुस २०८१, बुधबार

विद्यार्थीले सघाउँछन् सेवाग्राहीलाई

blog

जयमान बुढामगर

रुकुमपूर्व, वैशाख २६ गते  । जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणलाई सेवा लिन अलमल नपर्न नागरिक सहायता कक्षको व्यवस्था गरिएको छ । नागरिक सहायता कक्षमा जिल्लाको सिस्ने शिक्षा क्याम्पसका विद्यार्थीले स्वयंसेवा गर्दै आएका छन् । 

सहायता कक्षमा दुई हप्तामा दुई विद्यार्थीको पालो राखिएको छ । कार्यालयमा पर्याप्त कर्मचारी नभएकाले नागरिक सहायता कक्षमा क्याम्पसका विद्यार्थीलाई राखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीरालाल आचार्यले बताउनुभयो ।

क्याम्पसका विद्यार्थीलाई राख्दा दुवै पक्षलाई फाइदा भइरहेको निमित्त प्रजिअ आचार्यको भनाइ रहेको छ । आचार्यले भन्नुभयो, “कर्मचारी अभावले सेवा प्रवाह गर्नमा हामीलाई मद्दत भएको छ । अर्काेतर्फ विद्यार्थीको कक्षा बिहान भएकाले दिउँसोको समयमा विद्यार्थीले कार्यालयको कामकाज सिक्ने अवसर पनि पाएका छन् ।”

बिएडमा अध्ययनरत विद्यार्थीलाई फुर्सदको सयममा सेवाग्राहीसँगको घुलमिलले भविष्यमा उहाँहरूको काम अनुभवको प्रमाणसँगै क्षमतामा अब्बल हुने विश्वासका साथ क्याम्पससँगको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरी सेवा प्रवाह गरिएको आचार्यले बताउनुभयो ।   

गाउँबाट नागरिकता, राहदानी, कागजात सच्याउनेलगायतका सेवाका लागि जिल्ला प्रशासन कार्यालय आउने सेवाग्राही सन्तुष्ट भएर फर्किने गरेको नागरिक सहायता कक्षका पवित्रा बुढाले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले कुन सेवाग्राहीको काम कति बेला सकिन्छ भनेर सुरुमै जानकारी दिने गरेको बुढाको भनाइ रहेको छ । नागरिकताको प्रतिलिपि लिन आएका पुथाउत्तरगङ्गा गाउँपालिका–१४ का रमन विकले प्रशासनको नागरिकमैत्री सेवा प्रवाहबारे प्रशंसा गर्नुभयो । कार्यालय हाताभित्रै पर्याप्त फर्निचरसहितको आकर्षक प्रतीक्षालय, सेवाग्राही पुस्तकालय, फ्री वाइफाईको सुविधा रहेको विकले बताउनुभयो । 

सेवा लिइसकेपछि बाहिरिने बेला सेवाग्राहीलाई नागरिक सहायता कक्षमै सेवा प्रवाहमा देखिएको अवस्थाबारे गुनासा तथा सुझाव लेख्ने व्यवस्थासमेत गरिएको छ । सेवाग्राहीका गुनासा तथा सुझाव अनुरूप थप सरल र गुणस्तरीय सेवा प्रवाह थप गर्दै सेवा दिइराखेको निमित्त प्रमुख जिल्ला अधिकारी आचार्यको भनाइ छ ।