• १२ पुस २०८१, शुक्रबार

शिक्षक खाजामा व्यस्त, अध्यापन प्रभावित

blog

महोत्तरी समाचारदाता

महोत्तरी, वैशाख २६  गते । विद्यालयमा खाजा कार्यक्रम प्रभावकारी बनाउन प्रधानाध्यापकको ध्यान केन्द्रित हुँदा शैक्षिक गुणस्तर ह्रास हुँदै गएको छ । विद्यालयमा स्वस्थकर तथा गुणात्मक खाजा प्रबन्धमा लाग्दा प्रधानाध्यापकले गर्नुपर्ने अन्य  महत्त्वपूर्ण काम प्रभावित भएको बताइन्छ ।

जिल्लाको जलेश्वर नगरपालिकामा रहेको आधारभूत विद्यालय मसुरपट्टीका प्रधानाध्यापक राजकिशोर सिंहले विद्यार्थीलाई गुणस्तरीय खाजा व्यवस्थापनमा खटिनुपर्दा विद्यालयको दैनिकी बिग्रिएको बताउनुभयो । उहाँले विद्यालयमा विद्यार्थीको चाप कम देखिए पनि प्रतिविद्यार्थी उपलब्ध गराइने १५ रुपियाँ बजेट अपुग भएको बताउनुभयो । उहाँका अनुसार खाजा बनाउन सहयोगी भान्से र खाजा बनाउने भाँडाकुँडा व्यवस्थापन नहुँदा गुणस्तरीय खाजा व्यवस्थापनमा समस्या हुने गरेको बताउनुभयो । 

शुकदेव माध्यमिक विद्यालय सुगाका प्रधानाध्यापक कृष्णचन्द्र चौधरीले नियमित रूपमा ४५० भन्दा बढी विद्यार्थी खाजा खाने गरेको बताउनुभयो । खाजा व्यवस्थापनमा बढी खटिनु परेको गुनासो उहाँको छ । उहाँले सरकारले पाँच वर्षअघिकै दर अनुसारको खाजा रकम उपलब्ध गराएका कारणले बजेट अपुग हुने, खाजा सामग्रीमा बढी लगानी लगाउनु परेको र खाजा व्यवस्थापनका कारण दैनिकी व्रिmयाकलापसमेत प्रभावित हुने गरेको बताउनुभयो । 

उहाँले खाजा खाने विद्यार्थीको सङ्ख्या धेरै भएका कारणले एउटा एउटा कक्षाको विद्यार्थीलाई राखेर खाजा खुवाउने गर्दा पठनपाठनमा समेत असर पुगेको बताउनुभयो । प्रधानाध्यापक चौधरीले भन्नुभयो, “यस क्षेत्रमा आमा समूह तथा व्यवस्थापन समितिले जिम्मेवारी नलिँदा खाजा व्यवस्थापनमै बढी खटिनुपर्दा समस्या देखिएको छ ।”

जलेश्वर नगरपालिकाको २८ वटा विद्यालयमा काम विशेषले अवलोकन गर्नुभएका जलेश्वरका युवा रञ्जन तिवारीले विद्यालयमा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधानाध्यापकले सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्दा शिक्षक, अभिभावकसँगको बैठक, शिक्षण प्रणालीमा सुधार तथा पाठ्यक्रम र पाठ्यभारलगायतका अन्य शिक्षणको काम प्रभावित भएको बताउनुभयो । सरकारले प्रधानाध्यापक तथा तोकिएका शिक्षकले अभिभावकको सहकार्यमा विद्यालय व्यवस्थापन समितिको निर्णयमा खाजा कार्यक्रम कार्यान्वयन हुने व्यवस्था मिलाउने भनेको छ । यद्यपि, जलेश्वर नगरपालिकाको अधिकांश विद्यालयको व्यवस्थापन समिति वडाध्यक्ष नै रहेको कारणले पनि प्रधानाध्यापकलाई अत्यधिक ध्यान सोहीमा लगाउनुपर्ने बाध्यता रहेको युवा तिवारीले बताउनुभयो ।

एकडारा गाउँपालिकाको कोल्हुवावगिया माध्यमिक विद्यालयका प्रधानाध्यापक जीवछ ठाकुरले माध्यमिक विद्यालयमा खाजा कार्यव्रmम सञ्चालनका लागि कार्यालय सहयोगी, शिक्षक तथा अभिभावक सम्मिलित समिति बनाएर काम गर्ने गरेको कारण प्रधानाध्यापकको सम्पूर्ण ध्यान खाजा कार्यव्रmममा नभए पनि प्राथमिक र आधारभूत तहका विद्यालयमा कार्यरत प्रधानाध्यापकको सम्पूर्ण ध्यान खानपानको व्यवस्थापनमै हुने गरेको बताउनुभयो ।

पोषण र सिकाइबीचको अन्योन्याश्रित सम्बन्धलाई आत्मसात् गर्दै नेपाल सरकारले सामुदायिक विद्यालयमा आर्थिक वर्ष २०७७/७८ बाट सामुदायिक विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म र हाल कक्षा ६ सम्मका सबै विद्यार्थीका लागि दिवा खाजा व्यवस्था गरेको छ । विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ ले प्रतिदिन आवश्यक पोषणयुक्त तìव भएका खानेकुरा व्यवस्था गर्नुपर्ने उल्लेख छ । यसमा क्यालोरी, प्रोटिन, बोसो, आयोडिन, आइरन, जिङ्क र भिटामिन ‘ए’ गरी सात प्रकारका पोषणयुक्त तìवको मात्रा मिलाउनुुपर्ने उल्लेख छ ।

सहयोगी पुस्तिकामा स्पष्ट रूपमा खाजा खुवाउने अन्नपातको नाम नै किटान गरे पनि धेरै विद्यालयले खाजाको रूपमा चाउचाउ, बिस्कुटजस्ता जङ्क फुडसमेत खुवाउने गरेको बताइन्छ । युवा तिवारीले भन्नुभयो, “स्थानीय तहले विद्यालयमा समिति बनाएर काम गर्ने हो भने सहयोगी पुस्तिकाले तोके अनुसारको खाजा खुवाउन र प्रधानाध्यापकलाई गुणस्तरीय शिक्षाका लागि काम गर्न समय मिल्ने देखिन्छ ।” सन् २०१८ मा नेपालमा गरिएको अध्ययनले दिवा खाजा खुवाएका विद्यार्थी दिवा खाजा नखुवाएका विद्यार्थीको तुलनामा ०.८८ प्रतिशत विद्यालयमा बढी समय टिकेको पाइएको छ ।