गोकर्ण पौडेल
तुलसीपुर, वैशाख २५ गते । रेडक्रस दिवसका अवसरमा रेडक्रस सोसाइटी दाङ शाखाले गोरखापत्रका तुलसीपुर समाचारदाता गोकर्ण पौडेलसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरेको छ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको स्वर्ण जयन्ती एवम् रेडक्रस दिवसका अवसरमा समाचारदाता पौडेलसहित विभिन्न व्यक्तित्वलाई संस्थाको विकास, प्रवर्धनमा टेवा दिएको भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो ।
दाङ शाखाका सभापति मदन गौतमको अध्यक्षता एवम् मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मुख्यमन्त्री चौधरीले प्रदेशभरि विपद् व्यवस्थापनका लागि निकै चुनौती रहेको बताउनुभयो । रेडक्रसको सहयोग, सहकार्यबाट विपद् व्यवस्थापनका समस्यालाई समाधान गर्दै लैजाने उहाँले बताउनुभयो ।
मुख्यमन्त्री चौधरीले जिल्लामा विपद् व्यवस्थापन सामग्री भण्डारका लागि तत्काल भवन निर्माणको प्रक्रिया थालिएको बताउनुभयो । कार्यक्रममा रेडक्रस दाङ शाखाका संस्थापक मन्त्री नवराज रजौरे, पूर्व सभापति डिल्लीबहादुर केसी, निवर्तमान सभापति नारायणकुमार आचार्य, सामाजिकरुपमा सहयोग गर्ने वामदेव उपाध्याय, नरेशजंग राणा, दीपक केसी, शेषदत्त चौधरी, टीकाराम रेग्मी, कृतिबहादुर खड्का, बलदेव शर्मा, घनश्याम भण्डारीलाई सम्मानित गरिएको छ ।
दाङमा २०३० साल वैशाख १६ गते रेडक्रस शाखाको स्थापना भएको थियो । रेडक्रसले जिल्लामा विपद् व्यवस्थापन, खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्दैआएको छ ।