काठमाडौं, वैशाख २५ गते । नेपाली कांग्रेसका नेता नैनसिंह महरले आर्थिक समृद्धिको मुख्य बाधक र सामाजिक कलकका रूपमा रहेको भ्रष्टाचार उन्मूलनका लागि संसदले साझा सङ्कल्प पास गरेर यसै चालु अधिवेशनमा आवश्यक ठोस कानुन निर्माण गर्नु पर्ने बताउनुभएको छ ।
सुशासनका लागि सामाजिक अभियानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै नेता महराले यस्तो बताउनुभएको हो ।
उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेकाहरू गहन अनुसन्धान गरी दोषी प्रमाणित भएका ठूला, साना सबैलाई कडा कारबाही हुनु पर्ने बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी समेत बेलाबेलामा भ्रष्टाचारमा मुछिएको बताउनुहुँदै महरले अहिले पनि अख्तियारको खुट्टा धरमराएको पो हो ? भनेर प्रश्न गर्नुभयो ।
काण्डै–काण्ड र महाकाण्ड जस्ता पुस्तकमा नेपालको भ्रष्टाचारका काण्डहरू पर्दाफास गरिसकेका नेता महरले भ्रष्टाचारीहरूको कारण नेपाली समाजमा इमान्दारहरु निरीह देखिएको प्रसङ्ग सुनाउनुहुँदै उहाँले भन्नुभयो, ‘‘भ्रष्टाचारका कारण देशको सुशासनको अवस्था कमजोर मात्रै होइन कि अन्तर्राष्ट्रिय जगतमा देशको बेइज्जत समेत भएकाले चालु संसदमा सांसदहरूले भत्तामात्रै पकाउनुभन्दा पनि भ्रष्टाचार नियन्त्रण सम्बन्धी आवश्यक कानुन निर्माण गर्नुपर्छ ।’’
सम्बन्धित निकायले दोषीलाई कानुनको कठघरामा उभ्याउन ढिलो गर्नु नहुने नेता महरको भनाइ छ ।