• १३ मंसिर २०८१, बिहिबार

सिकलसेल र थालेसेमिया रोगविरुद्ध अभियान

blog

सिराज खान 

नेपालगञ्ज, वैशाख २५ गते । थारू समुदायको बाहुल्य भएको गाउँबस्तीमा कोहलपुर नगरपालिकाले सञ्चालन गरेको सिकलसेल र थालेसेमियाको रोग नियन्त्रण अभियान प्रभावकारी बन्दै गएको छ। 

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले थारू समुदायका महिला र पुरुषमा बढी देखिएको सिकलसेल र थालेसेमियाको रोगको नियन्त्रणका लागि सुरु गरिएको अभियानप्रति सो समुदाय बढी आकर्षित भएपछि अभियान प्रभावकारी बन्दै गएको बताउनुभयो। 

उहाँले भन्नुभयो, “थारू समुदायलगायत अन्य जातिको पनि रगत परीक्षण गरेर सिकलसेल र थालेसेमियाको रोग पत्ता लगाउने अभियानमा बढीभन्दा बढी स्थानीयको सहभागिता देखिएको छ। निकै चासोका साथ स्थानीयले रगत परीक्षण गराएर रोग पत्ता लागेकालाई रातो कार्ड वितरण गर्ने काम भइरहेको छ।”

प्रमुख आचार्यले सो अभियानमा स्थानीयको सहभागिता सोचेभन्दा बढी देखिएकाले निकै प्रभावकारी बन्दै गएको बताउनुभयो। 

केही समयअघिसम्म कोहलपुर नगरपालिका–७ का कृष्ण थारूले सिकलसेलबारे कुनै जानकारी पाउनुभएको थिएन तर अहिलेको अभियानबाट प्रभावित भएर उहाँले रगत परीक्षण गराउनुभयो र उहाँलाई सिकलसेल भएको पुष्टि भयो। 

कृष्ण थारूले भन्नुभयो, “मैले सो रोगबारे जानकारी नपाउँदा उपचारमा ठुलो रकम खर्च गरँे तर अझै निको भएन, अहिले आएर बल्ल थाहा भयो कि मलाई सिकलसेल रहेछ। अहिले मेरो रातो कार्ड बनेको छ।”

यो अभियानबाट सो रोग पत्ता लागेपछि उपचार सुरु गराउनुभएका कृष्ण जस्तै दर्जनाै महिला र पुरुष हुनुहुन्छ। भेरी अस्पताल नेपालगञ्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल विज्ञ डा. राजन पाण्डेले उक्त अभियान अन्तर्गत वडा वडामा गरिने अभिमुखीकरणमा सहभागी हुने अधिकांशले रगत परीक्षण गराइरहनुभएको जनाउँदै रोग देखिएकाको उपचार सुरु गरिएको बताउनुभयो। 

उहाँले अभिमुखीकरणमा ठुलो सङ्ख्यामा स्थानीयको सहभागिता रहने गरेकाले सोबारेमा जनचेतना फैलाउन सहज भएको बताउनुभयो। 

सिकलसेल तथा थालेसेमियाका ल्याब प्रमुख शिव गौतमले सो अभियान अन्तर्गत हालसम्म कोहलपुर नगरपालिकामा करिब ११ हजारभन्दा बढीको रगत परीक्षण गरेको बताउनुभयो। उहाँले तीमध्ये सिकलसेल रोगी ९५ जना, वाहक रोगी एक हजारभन्दा बढी जना र थालेसेमियाका रोगी १५० जना फेला परेको बताउनुभयो। 

एक हजारभन्दा बढी वाहक फेला पर्नु निकै चिन्ताजनक अवस्था रहेको जनाउँदै अविवाहित वाहकको विवाह गर्दा वाहकसँग गर्न नहुने चिकित्सकहरूको भनाइ छ। नगरपालिकामा अहिले दैनिक २० देखि ४० जनासम्म रगत परीक्षण गर्न आफैँ आउन थालेका छन्। 

कोहलपुरमा २२ हजारभन्दा बढीको सङ्ख्यामा थारू समुदाय रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाको प्रत्येक वडामा वडाध्यक्षको सभापतित्वमा यो अभियान सञ्चालन भइरहेको छ।