बैङ्कमा लुटपाट वा चोरी किन हुन्छ ? किनभने पैसा त्यहीँ हुन्छ । बैङ्क लुटपाटका कैयौँ घटना इतिहासका पानामा कोरिएका छन् । सबैतिरको पैसा बैङ्कमै जम्मा हुन आउने भएकाले होला लुटेराले पैसा हासिल गर्न बैङ्कलाई निशाना बनाउने, इतिहास बैङ्क लुटपाटका विभिन्न घटनाको साक्षी छ । बैङ्कमा पैसा मात्र होइन गरगहना र सुनसमेत राखिएको हुन्छ । यी पनि लुटेरालाई लोभ्याउने वस्तु हुन् ।
विश्वमा बैङ्क लुटपाटका अचम्म लाग्ने घटना भएका छन् । ती घटनाको विवरणबाट लुटपाटका लागि लुटेरा कुन हदसम्म जान सक्छन् भन्ने थाहा हुन्छ । बैङ्कको ढुकुटीसम्म पुग्न लामो सुरुङ खन्ने, दिउँसै बैङ्कमा हतियारसहित डाँका हाल्ने, बैङ्कको उच्च तहका कर्मचारीलाई अपहरण गर्ने वा बन्धक बनाउने, बम विस्फोट गरी भित्ता फोर्ने, सुरक्षा साइरन बन्द गर्ने, सञ्चार अवरुद्ध पार्नेजस्ता काम बैङ्क लुटपाटका क्रममा भएका छन् ।
बैङ्क चोरीको एउटा कुख्यात घटना बेकर स्ट्रिटको बैङ्कमा भएको थियो । आर्थर कानन डायलको सलर्क होम्सका कथाहरूमध्येको एक ‘द रेड–हेडेड लिग’ मा मानिसको एक समूह बैङ्कमा चोरी गर्न नजिकैको भवनबाट सुरुङ खनेर बैङ्कको ढुकुटीसम्म पुगेको कथा हामीले पढेको हुनुपर्छ । यो कथा प्रकाशित भएको ८० वर्षपछि यस्तै खालको बैङ्क चारीको घटना भयो । घटना पनि त्यहाँ भयो जहाँ कथाका काल्पनिक पात्र सलर्क होम्स बसोबास गर्दथे ।
सन् १९७१ म चोरहरूको एक समूहले लन्डनमा बेकर स्ट्रिटमा रहेको लोयड बैङ्कको शाखा नजिक एक घरको भुइँतलाको भण्डारगृह भाडामा लिए । चोरले पत्ता लगाएका थिए बैङ्कको ढुकुटी भरिभराउ थियो तथा ढुकुटीमा जडान गरिएको सुरक्षा अलार्मको सेन्सर नजिकैको सडकमा भइरहेको कामका कारण बन्द थिए र त्यसले गर्दा अलार्म बेलाबेलामा त्यत्तिकै पनि बज्ने गथ्र्यो ।
भाडामा लिएको भण्डारगृहबाट चोरले बैङ्कको ढुकुटीसम्म पुग्न सुरुङ खने, सेप्टेम्बर ११ को राति उनीहरूले ढुकुटी लुटे ।
एक जना अपेसेवर रेडियो शौकिन रोबर्ट रल्यान्ड्सले लुटपाटका बेला चोरहरूले आफ्नो ‘वाकीटकी’मा कुरा गरिरहेको सुनेछन् । उनले प्रहरीलाई यस वार्ताको जानकारी दिए । प्रहरीले आएर बैङ्कको बेकर स्ट्रिट शाखाको ढुकुटीको ढोका जाँच गरे, ढोका बन्द नै थियो तर त्यसबेला चोरहरू ढुकुटीभित्र थिए । ढोका बन्द नै भएकाले प्रहरीले कुनै गडबडीको आशङ्का गरेन र प्रहरी टोली त्यहाँबाट फर्कियो ।
चोरहरूले बैङ्कबाट लगभग तीस लाख ब्रिटिस पाउन्ड चोरेका थिए । चोरहरूले बैङ्कमा चोरी गर्दा कुनै गल्ती गरेनन् तर भण्डारगृह भाडामा लिँदा तीमध्येका एक जनाले आफ्नो वास्तविक नाम लेखाएर गल्ती गरे । पछि बैङ्कको ढुकुटी चोरिएको थाहा भयो र छानबिन गर्दा सुरुङ पत्ता लाग्यो । ढुकुटीमा पुग्न जहाँबाट सुरुङ खनिएको थियो सो भण्डारगृह भाडामा लिने व्यक्ति पक्राउ परे र उनीसँगै अन्य तीन पनि जेल सजायको भागिदार बने ।
चोरहरूले भाडामा लिएको ठाउँबाट बैङ्कको ढुकुटीसम्म पुग्न ४० फिट लामो सुरुङ खनेका थिए । यस चोरी घटनाको मुख्य योजनाकार थिए एन्थोनी गेभिन । उनी एक कुख्यात अपराधी थिए र वास्तवमा ‘द रेड–हेडेड लिग’ पढेपछि नै बैङ्क चोरीको योजना उनको दिमागमा आएको थियो ।
३८ वर्षीय गेभिन पेसाले एक फोटोग्राफर थिए तर उनी अपराधी मनोवृत्तिका थिए । करिब एक वर्ष पहिलेदेखि उनले बेकर स्ट्रिटको लोयड बैङ्कमा चोरी गर्ने योजना बनाउन थालेका थिए । त्यसका लागि उनले सर्वप्रथम सन् १९७० डिसेम्बरमा सो बैङ्कमा आफ्नो खाता खोले । त्यसपछि नियमित रूपमा बैङ्कमा गएर त्यहाँको सुरक्षा र वस्तुस्थितिको अवलोकन गर्न थालेका थिए ।
गेभिन र उनका चोर साथीहरूले बैङ्क नजिकै रहेको छालाका सामग्रीको पसल भण्डारगृहसहित भाडामा लिएर त्यहाँबाट बैङ्कको ढुकुटीसम्म सुरुङ हप्तौँ समय लगाएर खने । ढुकुटीमा प्रवेश गरेपछि उनीहरूले दुई सय ६८ सेफ डिपोजिट बक्स रित्याए । वरिपरिको परिस्थिति बुझेर जानकारी दिनका लागि चोर समूहले नजिकैको अर्को घरको छतमा एक जनालाई वाकीटकी दिएर निगरानीमा खटाएका थिए । त्यहाँबाट सुरुङमा रहेकाहरूबीच वाकीटकीमा कुरा हुँदा नै अचानक रोबर्टले सुत्न जाने बेला आफ्नो रेडियोमा चोरहरूबीचको वार्ता सुने । अनि उनले तुरुन्त प्रहरीलाई खबर गरी स्थानीय सबै बैङ्कको जाँच गर्न अनुरोध गरे तर प्रहरीले उनको कुरामा विश्वास गरेन । प्रहरीले चोरहरूको वार्ता रेकर्ड गर्न भनेपछि रोबर्टले टेप रेकर्डरमा चोरहरूबीच भइरहेको कुराकानी रेकर्ड गरेर प्रहरीलाई पुनः जानकारी दिए । उनले दोस्रो पटक सम्पर्क गर्दा प्रहरीले उनको कुरामा विश्वास ग¥यो र १३ किलोमिटर परिधिमा रहेका सात सय ५० बैङ्कमा प्रहरीले छापा हान्यो तर चोरहरूको सुइँको पाउन सकेन ।
तर चोरीको घटना सार्वजनिक भएलगत्तै प्रहरीले घर भाडामा लिने बेन्जामिन वुल्फ नामका व्यक्तिलाई पक्राउ ग¥यो तथा अक्टोबरको अन्त्यसम्म वुल्फसहित गेभिन, रेग टकर र थोमस स्टेफन्स पनि प्रहरीको फन्दामा परे । कतिपय चोरसम्म प्रहरी कहिल्यै पुग्न सकेन ।
यस बैङ्क चोरीको घटनामा आधारित रहेका थुप्रै चलचित्र बनाइएका छन् ।
–युवामञ्च