• ६ पुस २०८१, शनिबार

सांस्कृतिक मिश्रणमा जिरेल

blog

दोलखा जिल्लाको जिरी र जुगु क्षेत्रमा रहेका जिरेल जातिको नामकरण स्थान विशेषको नामबाट ‘जिरेलु भएको हुन सक्ने विश्वास गरिन्छ । जिरीसाथै सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, चितवन, मकवानपुरतिर पनि पातलो सङ्ख्यामा जिरेलहरू बस्छन् । यिनीहरू आफूलाई जिर्वारजिरिपा भन्दछन् । कतिपयले यिनीहरूलाई किराँत जातिकै एक हाँगो भनेका छन् भने कतिपयले यिनीहरूलाई उत्पत्तिस्थल, भाषा, संस्कृति, शारीरिक बनोट आदिका कारण एक छुट्टै जाति मान्दछन् । 

जिरेललाई किराँतको शाखा जाति मान्ने विचारलाई कतिपय जिरेल–जिर्वा ठाडै अस्वीकार गर्छन् र आफूहरूलाई किराँतभन्दा नेपालका पुराना बासिन्दा मान्छन् । उनीहरू आफू तिब्बततिरबाट नेपाल आएको भन्छन् । जिरेल–जिर्वाका अनुसार पुख्र्यौली भूमि सिमरौनगढ (मिथिला क्षेत्र)मा बसोबास गर्दा हिन्दु राजकाजको प्रभावमा परेर जिरेलले हिन्दु शैली अपनाएका हुन् । गाईलाई लक्ष्मीका रूपमा लिनु, मामा र फुपूको छोराछोरीलाई दाजुभाइ दिदीबहिनीका रूपमा लिई बिहेवारी नचल्नु हिन्दुको दबाबमा नभई प्रभावमा भएको हुन सक्ने जिरेल–जिर्वा विश्वास गर्छन् । 

तर कतिपयले जिरेलको उद्भव जिरी क्षेत्रमा भएको बताएका छन् ।  किराँत जातिभित्रको एक हाँगो भन्नेहरू बसाइँसराइका कारण उनीहरू ‘जिरेलु भएको विश्वास गर्छन् । जिरेललाई किराँत जातिभित्रको एक हाँगो भन्नेका अनुसार नेपालको पूर्वी पहाडमा बसोबास रहेका एक किराँती परिवारका सदस्य सुन्दरवीरका माइला छोरा सुरसिंहका सन्तान जिरीलगायतका क्षेत्रमा गएर बसोबास गर्न थाले । अरू छोराका सन्तानले हालको सुरीतिर बसोबास गरेको भनिन्छ । यिनै स्थान विशेषको नामबाट यिनीहरू जिरेल भएका हुन सक्छन् । भारतको दार्जिलिङ, गान्तोक क्षेत्र तथा माल्दिभ्समा समेत  जिरेलहरू रहेको बताइन्छ । 

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा प्रकाशित पुस्तिकामा यिनीहरूले बौद्ध तथा झाँक्री धर्म मान्छन् भनिएको छ तर झाँक्री त धर्मभन्दा पनि परम्परा हो । यिनीहरू प्रकृति पूजक हुन् । वायु, अग्नि, वृक्ष (वन र वनस्पति), पानी, बाघ, जमिन (पृथ्वी)लाई विशेष विधिले पुज्ने गर्छन् । खेतीपातीलाई पनि पूजाकै अर्थमा लिइन्छ । अन्न भिœयाउनु र रोपाइँ गर्नु पर्वजस्तै मानिन्छ । त्यसमा पनि कोदो रोपाइँमा विशेष उल्लास हुन्छ । 

नयाँ अन्न खानुअघि आगो, वायु र पृथ्वीलाई चढाएर मात्र खाने चलन छ । कोदो रोप्दा हुरी लगाउने (सामूहिक श्रम गर्ने) र खाजामा पाल्दोक खाने चलन छ । कोदो रोप्ने खेतालामा गहुँको सातुलाई जाँडले मुछेर बनाइएको डल्ला (पाल्दोक) अचारसँग खाइन्छ । यस्तो डल्ला एकमाना पिठोको हुनुपर्छ । पाल्दोक भएमा माछामासु नभए गोरस, अचार हुनुपर्छ । 

जिरेल जातिको आफ्नै वेशभूषा तथा गरगहना छ । पुरुषले भोटो कछाड, दौरा, सुरुवालमाथि पटुका बाँधी दापसहितको खुकुरी भिर्ने तथा त्यसमाथि लुकुनी लगाउँथे तर अचेल चाडबाडमा बाहेक यस्तो पहिरन देख्न पाइँदैन । महिलाहरू बुट्टे चौबन्दी चोलो र फरियामाथि पछ्यौरी ओढ्छन् । चारन्नी, अठन्नी, कम्पनी माला, तिलहरी, नाके फुली, नाडीका बाला, ढुङ्ग्रीजस्ता गरगहना जिरेल महिलाले लगाउने गर्छन् । यस्ता गरगहनामा पनि परिवर्तन आएको छ । 

जिरेल जातिमा पोम्बा र फोम्बाको विशिष्ट स्थान हुन्छ । धार्मिक कार्य पोम्बा (लामा)बाट हुन्छ भने फोम्बाले धार्मिक विधि पूजापाठ, झारफुक र परम्परागत विधिबाट बिरामीको उपचार गर्छन् । समुदायमा लामाले न्याय निसाफ दिने चलन पनि छ तर यसमा क्रमशः कमी आएको छ । साथै यिनीहरू लामाले ‘जोखानु हेरेर निर्णय गरेपछि फाप, अफापको विश्वासमा मृतकलाई गाड्ने वा जलाउने गर्छन् । 

जिरेलहरूले किराँत विधिअनुसार कुल देवता पुज्ने चलन छ तर हिन्दु चाडपर्व पनि मनाउने गर्छन् । जिरेल युथ अफ नेपालका अनुसार जिरेलहरूले दशैँ, तिहार, सत्यनारायण पूजा, माघे सङ्क्रान्ति, साउने सङ्क्रान्ति हिन्दु परम्पराअनुसार मनाउँछन् तर जन्म, विवाह तथा मृत्यु संस्कारमा बौद्ध परम्परा पालना गर्छन् । सांस्कृतिक सम्मिश्रण जिरेल जातिको विशेषता हो । जिरेलमा बज्यु पुछ्ने, आइतबारे पूजा, कुल देवता, च्येन पूजा (पितृ, चिहान) पूजा, नाङ्गी ल्हा, भूमे पूजा, चेरम्जो पूजा, ह्युल्सा पूजा, छ्योमु पुछ्ने, चारमाने पुज्नेजस्ता मौलिक पूजा तथा सांस्कृतिक प्रचलन 

पनि छन् । 

जिरेलहरूको मृत्यु संस्कारमा लामाद्वारा घेवा गर्दछन् । घेवामा भोजभतेर चल्छ । घेवाको अन्त्यमा मृतकको आत्मा कोही जिउँदो व्यक्तिको शरीरमा चढाएर ती व्यक्तिमार्फत मृतकसँग कुराकानी गर्ने गरिन्छ । यस्तो कार्यलाई सेन्सिङ चढाएको भनिन्छ । सेन्सिङ चढेका बेला कसैसँग मृतकको लेनदेन, सरसापटी भए सोध्ने गरिन्छ र तिरनतारन गरिन्छ । साथै भविष्यमा के गर्ने, के नगर्ने भनेर आत्माले निर्देशन दिन्छन् । 

यिनीहरूको आफ्नै ‘जिरेलु भाषा छ, जुन तिब्बती–बर्मेली भाषा परिवारमा पर्छ । जिरेल भाषा शेर्पा भाषासँग मिल्दोजुल्दो रहेकाले कतिपयले यिनीहरूको पुर्खा राई, किराँतभन्दा शेर्पा, भोटेसँग नजिक रहेको बताउने गरेका हुन् । करिब ७० प्रतिशत भाषा तिब्बतीसँग मिल्छ तर यिनीहरूका कतिपय शब्द र चालचलन किराँतसँग पनि मिल्दाजुल्दा छन् । पाका, पुराना र जिरी क्षेत्रका बासिन्दाले प्रायः जिरेल भाषामा बोले पनि बसाइँसराइ गएका र नयाँ पुस्ताले आफ्नो भाषा बिर्संदै गएका छन् । नयाँ पुस्ताले केही शब्द प्रयोग गरे पनि शुद्ध वाक्यमा जिरेल भाषा प्रयोग गर्न छाडेको देखिन्छ । राष्ट्रिय जनगणना २०६८ का अनुसार यिनीहरूको जनसङ्ख्या पाँच हजार ७७४ रहेको छ । 

–त्रिभुवनचन्द्र वाग्ले