काठमाडौँ, वैशाख २५ गते । आजदेखि राजधानीका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गरिने भएको छ । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले जानकारी दिनुभयो ।
यसअघि काठमाडौँ महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने सूचना सार्वजनिक गरेको थियो । महानगरको उक्त सूचनापछि इन्टरनेट सेवाप्रदायकले तार काटिए सेवा ‘ब्ल्याक आउट’ हुने जनाएका थिए । दूरसञ्चार प्राधिकरणले आइतबार मात्रै सूचना जारी गरेर इन्टरनेट अत्यावश्यकीय सेवा भएको यसको पूर्वाधारमा क्षति पुग्ने काम नगराउन अनुरोध
गरेको थियो ।
आइतबार भएको बैठकले राजधानीका विभिन्न क्षेत्रमा चरणबद्ध रूपमा तार व्यवस्थापन गर्ने निर्णय गरेको इन्टरनेट सेवाप्रदायक सङ्घ (आइस्पान) का पूर्वअध्यक्ष विनय बोहराले जानकारी दिनुभयो । “तार काट्दा हवाई सेवा, शिक्षा, बैङ्किङ, सार्वजनिक सेवा, शिक्षालगायतका विभिन्न सेवा प्रभावित हुने भएकोले यसलाई व्यवस्थित गर्ने सहमति भएको छ,” उहाँले भन्नुभयो । सहमति अनुसार झुन्डिएका तार काट्ने र प्रयोग नभएका ५० प्रतिशत तार हटाइने उहाँले बताउनुभयो । सेवाप्रदायकको गल्तीका कारण पनि कतिपय अवस्थामा तार व्यवस्थापनमा कठिनाइ भएकाले अबदेखि त्यस्तो अवस्था आउन नदिने प्रयास गरिने उहाँको भनाइ थियो ।
तार व्यवस्थापनसँग प्रत्यक्ष सरोकार राख्ने नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, एनसेल, नेपाल प्रहरीलाई समेत सहभागी हुन सार्वजनिक आह्वान गर्ने तयारी पनि प्राधिकरणले गरेको छ । सरोकारवाला सबैको सहभागितामा तार व्यवस्थापनको बारम्बारको समस्या समाधान गर्ने प्रयास गर्न थालिएको पनि प्राधिकरणले जनाएको छ ।