• ३ पुस २०८२, बिहिबार

गोरखा सदरमुकामको मुख्य सडकको अवस्था बेहाल, जिम्मेवार निकाय मौन

blog

गोरखा नगरपालिका – ६ बालमन्दिर माबि नजिकै रहेको खाल्डा खुल्टी परेको सडक। तस्बिर : आनन्द गुरुङ

गुणबहादुर रोका 

सुलीकोट, पुस ३ गते । गोरखा सदरमुकाम नजिकै रहेको गोरखा नगरपालिका– ६ स्थित बाल मन्दिर विद्यालय गेटमै सडक अत्यन्तै दयनीय अवस्थामा पुगेको छ । गोरखा सदरमुकामबाट प्रसिद्ध गोरखाकाली मन्दिर, भिमसेन पार्क, नारेश्वर, बेनी खोला, सिरानचोक, अजिरकोट, भिमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिका जाने मुख्य सडक खाल्डा खुल्डीले भरिएको छ । बर्षै बितिसक्दा समेत सडक मर्मत नहुनु गोरखा बासीको लागि चिन्ताको विषय बनेको छ । 

यो सडक केबल स्थानीय आबगमनको लागि मात्र नभई धार्मिक पर्यटकिय र प्रशासनिक दृष्टिले समेत अत्यन्तै महत्त्पूर्ण मानिन्छ, स्थानिय बुद्धिजिबी भक्तराम राना मगरले भन्नुभयो, ‘‘दैनिक  सयौ सवारी साधन एम्बुलेन्स, विद्यार्थी बोकेका सवारी, तिर्थयात्री तथा सर्बसाधरण यहि सडक प्रयोग गर्न बाध्य भएका छन् ।’’

दैनिक सयौं सवारी साधन आवतजावत गर्ने उक्त सडकको अवस्था हेर्दा कुनै युद्धग्रस्त क्षेत्रको झल्को दिने गरेको स्थानीयवासीले बताएका छन् । उक्त सडकमा साना खाल्डा मात्रा होइन त्यहाँ फलामका लामा–लामा रडहरु र खाल्डा खाल्टीले सवारी साधन क्षतिग्रस्त हुनुका साथै दुर्घटनाको जोखिम दिनप्रतिदिन बढ्दै गएको छ । 

उक्त सडक नजिक रहेका स्थानीयवासीको प्रश्न छ यो सडकको मर्मत गर्ने जिम्मा कसको हो सडक डिभिजन कार्यालय हो कि गोरखा नगरपालिकाको हो वा प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय गोरखाको वा सङ्घीय सरकार जिम्मेवार स्पस्ट नहुदाँ जनताले दुःख पाउने अस्था सृजना भएको स्थानीयको भनाइ छ । 

जनप्रतिनिधिहरुले चुनावका बेला यहि सडक देखाएर भोट माग्ने तर जितेपछि सङ्घीय सांसद, प्रदेश सांसद वा नगरपालिकाका प्रमुख बेवस्ता गर्ने प्रबृतिले जनआक्रोश बढ्दै गएको स्थानीय युवा अशोक राना मगरले बताउनुभयो । 

गोरखा सदरमुकामको महत्वपुर्ण सडक लामो समयसम्म नबाउनुमा लापरबाही, समन्वयको अभाव र जिम्मेवारीबाट पन्छिने प्रवृति प्रमुख कारण भएकाले समबन्धित निकायलाई आगामी निर्वाचनमा जवाफ दिने स्थानीयले बताएका छन् । 

सवारीसाधनको अत्यधिक मात्रामा चापले गर्दा सडक झनै जीर्ण बन्दै गएको छ भने वर्षाको समयमा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको बताइएको छ । 

गोरखा जस्तो  ऐतिहासिक, धार्मिक र प्रशासनिक केन्द्रको मुख्य सडक यसरी उपेक्षित हुनु लाजमर्दो विषय भएकाले पनि समबन्धित निकायले तत्काल स्थलगत अनुगमन गरी सडक मर्मतको काम अघि बढाउनु पर्ने स्थानीयको माग छ । 

यता गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानाले भने यो सडक  सङ्घीय र प्रदेश सरकारको बजेटबाट मर्मत सम्भार गर्नुपर्नेमा केहि ढिलाई भएकाले उक्त सडक मर्मत र सम्भारका लागि गोरखा नगरपालिका र सडक बोर्ड नेपालको साझेदारीमा यहि आर्थिक वर्षमा सडक मर्मत गर्ने निर्णय नगरकार्यपालिकाको बैठकबाट भईसकेकाले यहि वर्षको चैत भित्र सडक मर्मत सम्पन्न हुने दाबी गर्नुभयो ।