• ३ पुस २०८२, बिहिबार

पूर्वाधार अनुगमनमा मन्त्री घिसिङ

blog

महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको स्थलगत अनुगमन गर्नुहुँदै मन्त्री कुलमान घिसिङ । तस्बिर : भवानीदत्त भट्ट

बेलौरी समाचारदाता

बेलौरी (कञ्चनपुर), पुस ३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले सुदूरपश्चिम प्रदेशका विभिन्न भौतिक पूर्वाधार निर्माणको स्थलगत अनुगमन तथा नयाँ आयोजनाको शिलान्यास गर्नुभएको छ ।  

सोही क्रममा कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल र राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको टनकपुर मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ । 

बुधबार बिहान महेन्द्रनगर पुग्नुभएका मन्त्री घिसिङले ब्रमदेव स्थित महाकाली सिँचाइ तेस्रो चरणको मूल नहरको स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री घिसिङले महाकाली सिँचाइ आयोजना तेस्रो चरण मूल नहर शीघ्र सञ्चालनमा ल्याउन भारतीय पक्षसँग छलफल भइरहेको बताउनुभयो । 

मूल नहरको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलको निरीक्षण गर्नुभयो । हाल सञ्चालनमा रहेको पुलको बाँकी काम समयमै पूरा गर्न मन्त्री घिसिङले महाकाली पुल योजना कञ्चनपुरका प्रमुख नेत्र देवकोटालाई निर्देशन दिनुभयो । 

मन्त्री घिसिङलाई कञ्चनपुरस्थित उद्योगीले उद्योगहरूको डिमान्ड शुल्कका कारण कतिपय उद्योगी पलायन हुनुपर्ने अवस्था आएको भन्दै महसुल दरमा एक रूपता कायम गरिनुपर्नेलगायतका माग राखेका छन् । उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष पीताम्बर जोशीले विद्युत् महसुलमा तोकिएको सात दिनभित्र महसुल नबुझाए धेरै पेनाल्टी बाँकी रहने हुँदा सोलाई घटाउनुपर्ने, या सात दिनको समयावधिलाई एक महिनासम्म तिर्नुपर्ने व्यवस्था लागु हुनुपर्ने माग राख्नुभयो । 

यसै गरेर मजगाउँ विमानस्थल शीघ्र सञ्चालनमा ल्याइनुपर्ने, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम शीघ्र सञ्चालन गरिनुपर्ने, भम्केनीधाममा निर्माणाधीन नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि आवश्यक आर्थिक सहायता प्रदान गर्न मन्त्रीसमक्ष अनुरोध गर्नुभयो । 

यसै गरी उद्योग वाणिज्य सङ्घका कार्यकारी अधिकृत हेमराज भट्टले मजगाउँ विमानस्थल अलपत्र परेको विषयमा मन्त्री घिसिङको ध्यानाकर्षण गराउनुभयो । मन्त्री घिसिङले उद्योगी व्यवसायीको समस्यालाई ध्यानमा राख्दै यस क्षेत्रको विकासका लागि आवश्यक पहलकदमी गर्ने प्रतिबद्धता जनाउनुभयो । 

यसै गरी घिसिङले सुदूरपश्चिममा विद्युतीय समस्या समाधान गर्नका लागि झन्डै चार अर्बको नयाँ प्रोजेक्ट निर्माण छिट्टै अगाडि बढाइने बताउनुभयो । 

दौलतपुरघाट पुलको शिलान्यास

यसैबिच बुधबार नै मन्त्री घिसिङले बर्दिया र कैलाली जोड्ने कर्णाली नदीमा निर्माण हुने मल्टिस्पान झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ । 

यो पुलले बर्दियाको कर्णाली नदी पार गर्ने गरी राजापुर नगरपालिका–१, दौलतपुर र कैलालीको टीकापुर नगरपालिका–५, टीकापुर पार्कसँग जोड्ने छ । सहरी विकास मन्त्रालयमातहत रहेको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत सस्पेन्स ब्रिज डिभिजनमार्फत निर्माण हुने पुलको लम्बाइ ४८२.२० र चौडाइ १.६० मिटर रहेको छ । पुल निर्माणबाट दौलतपुर र टीकापुर क्षेत्र दुवैतर्फका करिब दुई हजार घरधुरी लाभान्वित हुने छन् । पुलको मध्य भागमा फोटो खिच्न मिल्ने गरी आवश्यक संरचना पनि बनाइने छ । 

दौलतपुरघाटमा पुल नहुँदा डुङ्गाको प्रयोग गरी कर्णाली नदीमा जोखिमपूर्ण यात्रा हुँदै आएको छ । वर्षायामका डुङ्गाको प्रयोग गर्न नसकिने हुँदा आवतजावत नै बन्द हुने अवस्था छ । झोलुङ्गे पुलको निर्माणपश्चात् स्थानीय बासिन्दालाई बाह्रै महिना सहज रूपमा नदी वारपार गर्ने सुविधा उपलब्ध हुने छ । 

शिलान्यास समारोहमा मन्त्री घिसिङले पुल निर्माणपछि टापुका रूपमा रहेका राजापुर र टीकापुरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न योगदान पुग्ने बताउनुभयो । उहाँले तोकिएकै समयमा पुलको निर्माणसम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनुभयो । ठेक्का सम्झौताबमोजिम पुल ११ असार २०८४ भित्र सम्पन्न हुने छ । कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले झोलुङ्गे पुल निर्माणले दौलतपुर क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने आधार तय गर्ने उल्लेख गर्नुभयो ।