• १० मंसिर २०८१, सोमबार

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

blog

काठमाडौं, वैशाख २४ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज (आइतबार) दोहोरो अङ्कले घटेको छ । साताको पहिलो दिनको कारोबारमा बजार खुले लगत्तै उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से परिसूचक १९ दशमलव १२ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५० दशमलव ६१ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव १४ अङ्कले ओरालो लागेर तीन सय ५४ दशमलव ७८ मा सीमित भएको छ । कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट आएको नेप्सेले जनाएको छ ।

कूल २३ कम्पनीको शेयर मूल्य उकालो लाग्दा एक सय ८७ कम्पनीको भने ओरालो लागेको छ । यस्तै, आठ कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । कूल २० लाख १५ हजार नौ सय ५९ कित्ता शेयर रु ६० करोड ८१ लाख ३५ हजार ९४ मूल्यमा खरिद बिक्री भए ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु तीन करोड २२ लाख ३७ हजार छ सय सात मूल्य बराबरको शेयर कारोबार भयो । यस्तै, मकर जितुमाया सुरी हाइड्रोपावर रु एक करोड ८९ लाख ७६ हजार एक सय तीन, नबिल बैङ्क रु एक करोड ६८ लाख २३ हजार, एनआइसी एसिया बैङ्क रु एक करोड ५४ लाख ७० हजार छ सय २३ र ङादी ग्रुप पावरको रु एक करोड ५३ लाख १५ हजार पाँच सय ९२ बराबरको शेयर कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार आत्मनिर्भर लघुवित्त आठ दशमलव २२,इस्टर्न हाइड्रोपावर सात दशमलव ६१, सनराइज ब्ल्यूचिप फण्ड पाँच दशमलव ८७,राष्ट्र उत्थान लघुवित्त तीन दशमलव ७८ र बलेफी हाइड्रोपावरको शेयर मूल्य तीन दशमलव ४८ प्रतिशतले बढेको छ । यस्तै एनएमबी बैङ्कको ऋणपत्र आठ दशमलव ८३, मकर जीतुमाया सुरी हाइड्रोपावर आठ दशमलव ३१, घलेम्दी हाइड्रोपावर पाँच दशमलव ८२, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलव ७५ र श्वेतगङ्गा हाइड्रोपावरको शेयर मूल्य पाँच दशमलव ७१ प्रतिशतले घटेको छ । रासस