काठमाडौं, वैशाख २४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सिंहदरबारमा सम्बोधन गर्नुहुँदै आइतबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको स्पष्ट पार्नुभयो ।
उहाँले सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णरुपमा प्रतिबद्ध छ । सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको छ । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको संस्थागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्ने सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक पहल भइरहेको छ ।’’
प्रधानमन्त्री प्रचण्डले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिनुभयो । उहाँले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको बताउनुभयो । उहाँले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइँदै छ । यो प्रक्रिया अघि बढिसकेको छ । ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदैछ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखी एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइँदै छ ।’’ प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।
आठौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको सम्बोधन
आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस । वि.सं. १९५८ वैशाख २४ गते नेपाली भाषाको पहिलो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिनको स्मरणमा गत आठ वर्षदेखि हरेक वर्षको वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । राष्ट्रिय पत्रकारिता दिवसको यस अवसरमा म पत्रकारिता जगतलगायत सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । पत्रकारिताको माध्यमबाट समाज रूपान्तरणको अभियानमा लाग्दै गर्दा आफ्नो अमूल्य जीवन बलिदान गर्नुभएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते, अपाङ्गलगायत यस क्षेत्रको विकासमा योगदान गर्नेहरूप्रति उच्च सम्मान प्रकट गर्दछु । पत्रकारिता क्षेत्रमा रहेर समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरी वरिष्ठ पत्रकार सम्मान तथा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुहुने सबैलाई हार्दिक बधाई ज्ञापन गर्दछु ।
नेपालबाटै नेपाली भाषामा समाचारमूलक पत्रिका गोरखापत्र प्रकाशन हुन थालेको १२२ वर्ष पूरा भई सकेको छ । नेपालबाट प्रकाशित हुने गोरखापत्र सरकारी स्वामित्वमा भएकाले यसका आफ्नै सीमा समस्या पनि थिए, सँगसँगै विसं १९७० को दशकदेखि प्रवासबाट प्रकाशित हुनथालेका पत्रपत्रिकाले त्यतिबेलाको बौद्धिक तप्कालाई राजनीतिक आन्दोलनमा अघि बढ्न उत्प्रेरित गरेको ऐतिहासिक भूमिका पनि म आज सम्झन चाहन्छु । विसं १९९१ को फागुनदेखि शारदा साहित्यिक मासिकको प्रकाशन हुँदै विसं २००० सालसम्म प्रकाशित साहित्यिक पत्रिकाहरूले नेपालको लोकतान्त्रिक आन्दोलनका पक्षमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।
त्यसपछि बनारसबाट प्रकाशित युगवाणी होस् वा कलकत्ताबाट प्रकाशित नेपाल पुकार होस्, सबै पत्रपत्रिकाले २००७ सालको आन्दोलनलाई सफल पार्न महत्त्वपूर्ण योगदान गरे भने २००७ कै सङ्घर्षको बीचबाट रेडियो प्रसारणको नयाँ प्रयोग पनि सुरु भयो । राणाविरोधी आन्दोलन, पञ्चायतविरोधी आन्दोलन हुँदै १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनसम्म नेपाली पत्रकारिताले राजनीतिक आन्दोलनको मुख्य सहयोगीको रूपमा आफूलाई उभ्यायो । आन्दोलनकै क्रममा कृष्ण सेन इच्छुकसहित कयौँ पत्रकारले बलिदान गर्नुभएको छ भने केही बेपत्ता हुुनुहुन्छ । कयौँ घाइते अपाङ्ग हुनुहुन्छ भने कयौँले जेल, नेल र यातना भोग्नुभयो । त्यति मात्र होइन, कयौँ राजनीतिक दलहरू अलमलमा रहेको बेलासमेत पत्रकारिता क्षेत्रबाट नै सुस्पष्टरुपमा नेपालमा गणतन्त्र स्थापना गर्नुपर्छ भनेर संस्थागतरुपमा नै जागरणमूलक अभियान सञ्चालन गरेको तथ्य स्पष्ट नै छ । त्यसैले आजको यो महत्त्वपूर्ण दिनमा म के भन्न चाहन्छु भने हामीले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि हो, जसको संलग्नताविना यति ठूलो राजनीतिक उपलब्धि प्राप्त गर्न सम्भव थिएन ।
पत्रकारिता क्षेत्रले प्रेस स्वतन्त्रतालाई प्रमुख सवालको रूपमा लिने गरेको छ । आजको राजनीतिक स्वतन्त्रता स्वयं पत्रकारिता क्षेत्रको सहभागितामा समेत प्राप्त भएकाले प्रेस स्वतन्त्रता यसको अनिवार्य पक्ष बन्न पुगेको छ । कुनै पनि व्यवस्था जनपक्षीय र लोकतान्त्रिक हो वा होइन भनेर मापन गर्ने बलियो आधार त्यो व्यवस्थामा प्रेस स्वतन्त्रता र पत्रकारको अधिकारको सुनिश्चितता छ वा छैन भन्ने पनि हो । हिजोको राजतन्त्रात्मक व्यवस्थामा समाचार लेखेकै कारण पत्रकार जेल जानुपर्ने, मारिनु पर्ने, समाचार सामग्री सेन्सरसीप गराउनुपर्ने तथा सञ्चार साधन अवरुद्ध गरिने जस्ता अवस्था आम पत्रकारहरूले भोग्नु परेको थियो । आज त्यो अवस्था अन्त्य भएको छ । वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्णतः प्रतिबद्ध छ । नेपालको संविधानले पूर्ण प्रेस स्वतन्त्रतालाई आफ्नो प्रस्तावनामै उल्लेख गरेर संस्थागत गरिसकेकाले प्रेस स्वतन्त्रता सङ्घीय लोकतान्त्रिक गणतन्त्रकै एउटा अङ्ग हो भन्ने ठान्दछु र यो व्यवस्थामा कसैले पनि प्रेस स्वतन्त्रता कुण्ठित गर्न नसक्ने स्पष्ट गर्न चाहन्छु ।
सरकारले सञ्चार क्षेत्रको व्यावसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र संवर्द्धन गर्ने नीति लिएको छ । पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाको प्रत्याभूति गर्नेसहित सञ्चार क्षेत्रका तमाम समस्या समाधान गर्न सकारात्मक ढङ्गले पहल भइरहेको छ । सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन विज्ञापन बोर्डमार्फत न्यायिक ढङ्गले वितरण गर्ने व्यवस्था मिलाइदैछ । ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइदैछ । सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखेर एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल गरिँदै छ ।
संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय र सुशासनको लक्ष्यमा दृढतापूर्वक लागिरहेको वर्तमान सरकार विकास र समृद्धिको यात्रामा समेत द्रुततर रूपमा अगाडि बढ्ने सङ्कल्पमा रहेको जानकारी गराउँदछु । अन्त्यमा, राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पुरस्कृत र सम्मानित सबैमा हार्दिक बधाई ज्ञापन गर्दछु । धन्यवाद ।