• ६ पुस २०८१, शनिबार

जसपा वर्तमान सरकारकै निरन्तरताको पक्षमा छ : उपेन्द्र यादव

blog

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव । फाइल तस्बिर

काठमाडौं, वैशाख २३ गते। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी वर्तमान सरकारकै निरन्तरताको पक्षमा रहेको बताउनु भएको छ। पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले सरकार परिवर्तन गर्ने हल्ला चलाएर कसैको हित नहुने बताउनुभयो। 

रफ्त सञ्चार क्लबले शनिबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले सुशासन, विकास र समृद्धिको मुख्य अभिभारालाई पूरा गर्दै लैजानुपर्ने आवश्यक्ता औंल्याउनु भयो। उहाँले 'कम्फटेवल मेजरिटी' भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिए पनि फरक नपर्ने तर्क गर्नुभयो।

अध्यक्ष यादवले भन्नुभयो, ‘‘सुशासन र विकासको अभियान गतिका साथ अगाडि बढाउने। शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा परिवर्तन गरेर अगाडि बढाउने मुख्य अभिभारा सरकारको हो। त्यसका लागि सरकारको स्थिरता आवश्यक छ। दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाएर कसैको हित हुँदैन।’’ 

अध्यक्ष यादवले सरकार परिवर्तन गरिराख्ने कुरा गलत भएको बताउनुभयो। राजनीतिक स्थिरताका साथ मुलुकलाई अघि बढाउन आफूहरुले वर्तमान सत्तारुढ गठबन्धन निर्माणमा योगदान गरेको उहाँको भनाइ छ। अध्यक्ष यादवले मुलुकलाई संकटबाट जोगाउन वित्तीय नीतिमै परिवर्तन गरेर अघि बढ्न सरकारलाई सुझाव दिनुभयो। थुप्रिएर रहेको पुँजी उत्पादनमुलक क्षेत्रमा परिचालन गरेर मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन सकिने उहाँको भनाइ छ।