• १५ चैत २०८०, बिहिबार

पूर्वीय आदर्श चेतनाका संवाहक गुरुप्रसाद मैनाली

blog

कथनको आरम्भदेखि घटनाहरूको तारतम्य समीपस्थ हुँदै एउटा उद्देश्यगत परिणाममा पुगेको आख्यान नै कथा विधा हो । साहित्यका अनेकौँ विधामध्ये कथा आकर्षक विधा पनि हो । कथाको विषयवस्तु र उद्देश्य अनुकूल पात्रका चरित्रले घटनाहरूलाई डो-याउँदै कथानकता पूर्ण बनाउने काम गरेका हुन्छन् । कथा गद्यमा लेखिने रुचिपूर्ण विषय भएकाले यस विधालाई जोसुकै व्यक्तिले पढ्न र सुन्न रुचाउँछन् । एक बसाइमा पढिन सकिने, ज्ञानवद्र्धक हुने तथा कथाको उद्देश्य एकैछिनमा स्पष्ट हुन आउने कारणले पनि कथा साहित्य बढी लोकप्रिय भएको हो । पौराणिक कथा–लोककथा वा दन्त्यकथा भन्दा फरक मानवीय जीवनजगत् हर्ष, विस्मात्, रोदन, चित्कार आदिको चेतनायुक्त कलात्मक प्रस्तुति नै आधुनिक कथा हो । यो मनुष्य जीवनको गति अनुभूति र चरित्रका मौलिक आयामसँग सापेक्ष रहन्छ । 

आधुनिक नेपाली कथा लेखनको आरम्भकर्ता गुरुप्रसाद मैनालीले भने जस्तै, “कुनै एउटा पात्रका जीवनको सङ्कटमय घटनालाई कलापूर्ण रीतिले लेख्नु नै कथा रचना हो ।” यस प्रसङ्गमा कथाभित्रका विभिन्न पात्रहरूका चरित्रको समष्टिगत सम्बन्धको एउटा पूर्ण रूप नै कथा हो भन्न सकिन्छ ।

आधुनिक नेपाली कथा लेखनको श्रीगणेशकर्ता गुरुप्रसाद मैनालीको ‘नासो’ कथा ‘शारदा’ पत्रिका (जेठको अङ्क)मा प्रकाशित भएपश्चात आधुनिक कथा लेखनकार्य द्रुतगतिले अगाडि बढेको हो । वि.सं. १९५७ भाद्र २३ गते  धनकुटामा जन्मिएका मैनालीको पुख्र्याैली थलोचाहिँ काभ्रे कानपुर हो । उनका पिता काँशीनाथ मैनाली तत्काल धनकुटामा जागिरे जीवन विताइरहेका र आमा काशीरूपादेवी त्यहीँ रहनु भएकीले गुरुप्रसाद मैनालीको जन्म धनकुटामा हुन पुगेको हो । उनले जागिर खाने प्रयोजनका लागि निजामती मध्यमा ११ को परीक्षा वि.सं. १९७५ मा दिई प्रथम श्रेणीमा पास गरेका थिए । उनले २४ वर्षे उमेर वि.सं. १९८१ मा न्याय क्षेत्रमा जागिर खान सुरु गरेका थिए । सरकारी डिठ्ठा पददेखि उपसचिव र न्यायाधीशसमेत भएका मैनालीका कतिपय कथामा न्याय सम्पादनको प्रभावसमेत परेको पाइन्छ ।

तथापि गुरुप्रसाद मैनालीका सबै (एघारवटै) कथाहरू समाजको यथार्थ घटनाबाट सुरु हुँदै अन्त्यमा आदर्श स्थापनासँगै टुङ्गिने गर्दछ । मैनालीका कथाहरू पूर्वीय आदर्शको भावभूमिमा सिर्जना भएका र पात्र तथा घटनाहरू पूर्वीय सामाजिक परिवेशका रहेकाले उनका कथामा पूर्वीय आदर्शचेत पर्याप्त मात्रामा रहेको पाइन्छ । मैनालीको कथागत प्रवृत्तिलाई पहिचान गर्ने हो भने– आधुनिक नेपाली कथाका प्रवर्तक, पारिवारिक परिवेशमा आधारित, असहाय व्यक्तिप्रति सहानुभूति, सुबोद्य कथानकता, माधुर्य शिल्पशैली, उखान टुक्काको उचित प्रयोग, अर्काको कुकर्मको प्रतिफल पीडादायक देखेर आदर्शतिर उन्मुख, दुई तीन कथाको परिवेश सहरीया भए पनि अधिकांश कथाहरू ग्रामीण परिवेशका हुनु, कथाका घटकका सुरुतिर पात्रको चरित्र असत् जस्तो देखिए पनि पछिल्लो समय पश्चातापी हुँदै सत्मार्गतिर उन्मुख हुनु, कथाका पात्रहरू क्षमाशील, कर्तव्यपरायण, दायित्वबोधी, आत्मशुद्धि आदि व्यवहारमा परिवर्तन गर्न सफल आदि विशेषता रहेका छन् । मैनालीका कथागत प्रवृत्तिकै आधारमा उनका कथाहरू आत्मशुद्धि र सत्कर्मप्रति उत्प्रेरणा, कर्तव्यपरायण र परमार्थशिद्धि तथा मानवतावादी र समतामूलक समाज निर्माणको खोजी आदि सूत्रद्वारा पूर्वीय आदर्श चेतना स्थापित गर्न सफल छन् ।

गुरुप्रसाद मैनालीको ‘नासो’ कथाका देवीरमण, सुभद्रा, लक्ष्मी र नौलीका क्रियाकलाप होस् वा ‘छिमेकी’ कथाको धनजिते र गुमाने वा ‘पापको परिणाम’ कथाको कान्तुपाध्ये वा प्रायश्चित कथाको गौरी र गोविन्द वा ‘बिदा’ कथाका नरेन्द्र र प्रभा एवं ‘परालको आगो’ कथाका चामे र गौथली नै किन नहुन् उनीहरूका चरित्र र व्यवहार आत्मशुद्धि तथा सत्कर्मप्रति उत्प्रेरित रहेका छन् । त्यस्तै ‘अभागी’ कथाको पण्डित माधवप्रसाद, गङ्गा र खत्रिनी बूढी तथा ‘सहिद’ कथाको म पात्र, देवता बाबू, बीरवहादुर र ‘कर्तव्य’ कथाको गङ्गाधर, मुरलीधर, श्रीधर था शशीधरका क्रियाकलाप र चरित्र पनि आत्माशुद्धि तथा सत्कर्मप्रति उत्प्रेरित रहेका छन् । त्यस्तै ‘प्रत्यागमन कथाकी प्रभा, रामु, निर्मलचन्द्र तथा चिताको ज्वालाकी शशी, म पात्र (सानुदाइ) आदि पात्रहरूको चरित्र आत्मशुद्धि र सत्कर्मप्रति उत्प्रेरणाको ज्वलन्त उदाहरण हुन् ।

मानव मन केवल जैविक प्रारूपसँग एकाकार हुँदै शारीरिक संयन्त्रलाई क्रियाशील बनाउने अदृश्य र अपरिहार्य तŒव नै आत्मा हो । त्यही आत्मा सधैँ निर्मल र विकारमुक्त रहनु नै आत्मशुद्धिगत आदर्श पनि हो । मानिसको मन शारीरिक प्यासका लागि जे पनि गर्न लालयित हुन्छ भने आत्माचाहिँ सधैँ सत्यनिष्ठामा दृढ रहन्छ । 

चैतन्ययुक्त मनको गहिराइमा आत्मा पुगेपछि त्यसको सत् निर्देशद्वारा मानिसको व्यवहारमा आउने परिवर्तन आत्माशुद्धि र सत्कर्मप्रतिको उत्प्रेणागत आदर्श हो । त्यही आदर्श स्थापना गर्ने गुरुप्रसाद मैनालीका कथाका पात्रहरूको सत्चरित्र नै पूर्वीय आदर्शगत चेतना हो । मैनालीका एघारवटै कथामा कथागत आत्मशुद्धि र सत्कर्मप्रतिको उत्प्रेणा, पात्रविधान र पात्रचरित्रमा देखिने आत्मशुद्धि र सत्कर्मप्रतिको उत्प्रेरणा तथा परिवेशगत आत्मशुद्धि र सत्कर्मप्रतिको उत्प्रेरणा प्रचुर मात्रामा रहेबाट नै पूर्वीय आदर्श चेतना फलिभूत भएको देखिन्छ ।

कथा विधाको एउटा अनिवार्य तत्त्व देशकाल वातावरण हो । कथाले चर्चेको सीमाक्षेत्र वरिपरिको प्राकृतिक वा भौतिक, मानव समाज, त्यस समाजको रीतिथिति, चाडपर्व संस्कार र संस्कृति रहनसहन, बोलीचाली, मानिसका स्वभाव र चरित्र नै परिवेश हो । कथालाई यथार्थ, बढी विश्वसनीय र प्रभावकारी ढङ्गले विकसित गराउँदै जीवन्तता दिने काम परिवेशले गरेको हुन्छ । भौगोलिक, ऐतिहासिक र सामाजिक हिसाबले सापेक्ष राख्दै वस्तुनिष्ठ रूपमा लेखिएका कथा नै प्राणमय बन्न पुग्छन् । मैनालीका कथाहरू पूर्वीय आदर्श, मूलतः काठमाडौँ उपत्यका र वरिपरिका स्थान, एकाध सहरिया र दुई तीन कथाको परिवेश भारतको वनारस, गोरखपुर, कलकत्ता, कटिहार र नौतनवा आदि रहेका छन् । 

कथाको भौगोलिक स्थान जतासुकैको रहे पनि पात्र र पात्रका चरित्र भने नेपाली नै हुन् । सामाजिक आदर्शोन्मुख यथार्थको धरातलमा रही मैनालीका कथामा गाउँघर, लेकबेँसी, खोलानाला, मेलापात, घामपानी, वर्षा, हिउँद, दसँै तिहार, शिवरात्रि, वसन्तपञ्चमी, विवाहउत्सव, अन्नबाली लगाउने र थन्क्याउने समय, दान धर्म, तीर्थव्रत, जन्ती मलामी आदि भौगोलिक र सामाजिक अवस्थाको आदर्शमय चित्रण रहेको छ । यिनै परिवेशगत घटनाको माध्यमबाट मैनालीका सबै कथाले पूर्वीय आदर्शलाई प्रभावशाली बनाएकाले नै मैनाली आफ्ना कथाका माध्यमबाट पूर्वीय आदर्श चेतनाका संवाहक बनेका हुन् ।

मैनालीका कथाहरू मानवतावादी र समतामूलक समाज निर्माण गर्नमा सक्षम छन् । मानिसले मानिसलाई हेर्ने र व्यवहार गर्ने दृष्टिकोण समान रहोस् जाति, धर्म, लिङ्ग, सम्प्रदाय, धनी, गरिब, उच–निच, निर्धो वा बलियो आदि आधारमा भिन्न नसोची सबैको समग्र उन्नति र प्रगतिका निम्ति स्वच्छ व्यवहार गर्नु नै मानवतावाद  हो । निहित स्वार्थलाई वास्ता नगरी सर्वत्र कल्याणको चाहना राख्दै कर्म गर्ने आदर्शवादी पात्रका चरित्र नै पूर्वीय आदर्शको अर्को प्रमाण हो । मैनालीका कथाको पात्रहरूका सत् व्यवहार नै आदर्शको द्योतक हो । मैनालीका कथामा लोककल्याण र परमार्थशिद्धिका निम्ति पात्रहरूले आफ्ना चरित्रलाई विशुद्ध रूपमा व्यवहार गर्न पुगेका छन् । परमको अर्थ सत्य हो र सत्य स्थिर रहन्छ भन्ने कुरा ‘नासो’ कथा सङ्ग्रहका सबै पात्रले एक न एक स्थानमा पुष्टि गरेका छन् । ‘भवतु सर्वमङ्गलम्’को मान्यतालाई शिरोधार्य गर्ने पात्रहरूका चरित्र निर्माण गर्ने गुरुप्रसाद मैनाली यस अर्थमा पनि आदर्शोन्मुख कथाकार हुन् ।

गुरुप्रसाद मैनालीका एघारवटै कथामा उपलब्ध आदर्शलाई मूल्याङ्कन गर्ने हो भने– हातगोडा चल्दैसम्म सामाजिक कार्यमा संलग्न हुनु, बैगुनीलाई गुन दिनु, घरपरिवारमा सुख, शान्ति र आदर्श कायम गर्न दम्पतीबीच हार्दिक र स्पष्ट व्यवहार गर्नु, नारी शिक्षा र मातृत्त्व गुणलाई बढावा दिनु रहेको पाइन्छ । यस्तै गाउँ छरछिमेक र स्वसमाजमा सहयोगी र सत् व्यवहार प्रकट गर्नु, एकअर्कालाई आपत् विपत् पर्दा स्वतः स्फूर्त रूपमा मद्दत पु-याउनु, प्रेमी प्रेमिकाबीच वासनात्मक नभई भावनात्मक र स्थिर प्रेममा रहनु, झैझगडा भयो भन्दैमा धर्म नछोड्नु, कुकर्मको फल यही लोक र यसै जुनीमा भोग्नुपर्छ भन्ने दृष्टान्त आदि प्रस्तुत भएका पाइन्छन् । यसका अतिरिक्त मैनालीका  कथामा जातपात, उचनिच भावलाई त्याग गर्न निर्देश भएको छ भने देशभक्तिभाव, राष्ट्रियता र राष्ट्रप्रतिको योगदानमाथि जोड दिएको देखिन्छ । 

सामाजिक न्याय समाजबाट प्राप्त गर्न सकिन्छ भन्ने कुरामाथि विश्वास र नारी अस्तित्व, नारी सौन्दर्य, नारी योगदानप्रति विशेष सम्मान, निरन्तर अरूको सेवा गर्नु, सत्कर्ममा दृढ रहनु तर फलको आश नगर्नु भन्ने मूलभूत दृष्टान्त दिँदै कथा लेख्ने कथाकार गुरूप्रसाद मैनाली कथाका माध्यमबाट पूर्वीय आदर्श स्थापित गर्ने सफल संवाहक हुन् भन्ने कुरामा दुई मत रहँदैन ।