• २३ पुस २०८१, मङ्गलबार

बिदामा सेवा पाउँदा सेवाग्राही खुसी

blog

अमरराज नहर्की 

तनहुँ, वैशाख २३ गते । व्यास नगरपालिका–६, सिसाघाटका जीवन दुरा राष्ट्रिय परिचयपत्रको काम १० मिनेटमै पूरा हुँदा खुसी हुनुभयो। शुक्रबार सार्वजनिक बिदाको दिन, त्यसमाथि पनि छिटो सेवा पाएकाले दुरा खुसी हुनुभएको हो। 

दुराले भन्नुभयो, “झन्झन्ट पनि भएन, सेवा पनि छिटो पाइयो। सार्वजनिक बिदाको दिन सेवा प्रदान गरेकोमा सरकारलाई धेरै–धेरै धन्यवाद।” व्यास नगरपालिका–८, पुलिम-याङ घर भई पोखरा बसेर अध्ययन गरिरहेकी सुस्मी गुरुङले सार्वजनिक बिदाको दिन कार्यालय खुल्दा आफ्नो पढाइमा असर नपरेको बताउनुभयो। 

नागरिकता बनाउन आएकी गुरुङले भीड नहुँदा कम छिटो भएकाले खुसी लागेको बताउनुभयो। गुरुङले भन्नुभयो, “नागरिकता बनाउन आउँदा मेरो पढाइ छुट्थ्यो। बिदाको दिन सेवा लिन पाउँदा निकै खुसी लागेको छ।” भीड नभएकाले राष्ट्रिय परिचयपत्रको कामसमेत एकै दिन गरेको उहाँले बताउनुभयो। सरकारले आधुनिक प्रविधिको प्रयोग र जनशक्ति थप गरेर पालो कुर्न नपर्ने गरी २५ देखि २० मिनेटभित्रै सबै काम पूरा गर्ने व्यवस्था गरे झन् राम्रो हुने उहाँको सुझाव छ। 

प्रतिलिपि नागरिकता बनाउन आएकी लीला श्रेष्ठले सरकारले भीड हुने कार्यालयमा सार्वजनिक बिदाको दिनसमेत सेवा दिएर प्रशंसनीय काम गरेको बताउनुभयो। अर्का सेवाग्राही सरस्वती श्रेष्ठले पनि भीड हुने कार्यालयले शनिबारसमेत सेवा दिए सेवाग्राहीलाई थप सहज हुने बताउनुभयो। सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले सार्वजनिक बिदाका दिन सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँले भन्नुभयो, “इलाका प्रशासन कार्यालय नहुँदा सेवाग्राहीको भीड धेरै हुन्छ, सार्वजनिक बिदाको दिन सेवा प्रदान गर्दा अन्य दिनमा कामको चाप कम हुन्छ।” 

अधिकृत चन्द्रनाथ पण्डितले जनताको सुविधाका लागि सेवा दिन पाउँदा रमाइलो लागेको बताउनुभयो। पण्डितले भन्नुभयो, “सरकारले लगाएको काम गर्नैपर्छ। जनताको सेवा गरेर खुसी बनाउन पाउँदा राम्रो लागेको छ।” 

खरदार पदमा कार्यरत प्रेमकुमारी थापा भन्नुहुन्छ, “थप पैसा नपाए पनि देशको आर्थिक अवस्था कमजोर भएकाले सेवा गर्न तयार छौँ। शनिबार खोल्ने निर्णय गरे पनि काम गर्न इच्छुक छु।”  

कम्प्युटर अपरेटर प्रताप पण्डितले सेवा दिन भनेर सरकारले खटाएकाले आफूलाई काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो। “सरकारको निर्णयले हामी बेखुसी छैनौँ। अतिरिक्त पैसा नपाए पनि काम गर्न उत्साह जागेको छ,” पण्डितले भन्नुभयो। 

वि.सं. २०८० मा परेका सबै सार्वजनिक बिदाका दिनसमेत कार्यालय खुल्ने भएकाले जिल्ला प्रशासन कार्यालयबाट शुक्रबार सेवा प्रदान गरिएको हो। प्रजिअ रिजालले भन्नुभयो, “बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतको सेवा प्रदान हुन्छ।” मन्त्रीपरिषद् बैठकले सेवाग्राहीको चाप हुने सरकारी निकाय दशैँ, तिहार, छठजस्ता ठूला चाडबाहेकका जात्रा, पर्व, दिवस, जयन्तीजस्ता सार्वजनिक बिदामा खुला राख्ने निर्णय गरेसँगै शुक्रबार २५६७औँ बुद्धजयन्ती तथा उभौली पर्वको सार्वजनिक बिदा भए पनि जिल्ला प्रशासन कार्यालय खुला थियो।