• २३ पुस २०८१, मङ्गलबार

तरकारी खेतीले भरियो सल्यानको फाँट

blog

ठाकुरप्रसाद आचार्य 

म्याग्दी (बेनी), वैशाख २३ गते । म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङस्थित सल्यान फाँट यतिखेर तरकारी खेतीले भरिएको छ । बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध भएको समथर फाँट काउली, बन्दागोभी, काँक्रो र गोलभेँडालगायतका तरकारीले सुन्दर देखिएको छ । 

तरकारी खेतीका लागि धाइरिङ पर्वतमै नमुना गाउँ हो । तरकारी पकेट क्षेत्रका रूपमा परिचित यस गाउँका अधिकांश कृषकले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट बर्सेनि करिब डेढदेखि दुई करोड रुपियाँभन्दा बढी गाउँमा भित्रिने अगुवा कृषक एकनारायण पौडेलले बताउनुभयो । 

उहाँ भन्नुहुन्छ, “तरकारी खेती यहाँका कृषकको जीवन नै बनिसकेको छ । तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि विदेश गएका युवा पनि गाउँ फर्किएर खेती गर्न थालेका छन् ।” उहाँका अनुसार यहाँका कृषकले वार्षिक रूपमा कम्तीमा दुई लाखदेखि १० लाख रुपियाँसम्म तरकारी खेतीबाट आम्दानी लिने गरेका छन् । गाउँका एक सय घरपरिवार व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । ताजा तरकारी र बिउबिजन बिक्रीबाट प्राप्त भएको आम्दानीले यहाँका कृषकले सहर बजारमा घर घडेरीसमेत जोडेका छन् । 

विगत २७ वर्षदेखि निरन्तर रूपमा ताजा तरकारी र बिउ उत्पादन गर्दै आउनुभएका गाउँका अगुवा कृषक पौडेलले भन्नुभयो, “तरकारी खेतीले विदेश पुगेका युवालाई पनि गाउँ फर्काएको छ । तरकारी खेतीले गाउँ नै समृद्ध बनेको छ ।” उत्पादन भएको ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, बागलुङ र पर्वतको सदरमुकाम कुस्मासम्म पुग्ने उहाँले बताउनुभयो ।  

परिश्रम गर्न सके तरकारी खेतीबाट राम्रो फाइदा लिन सकिने कृषक बलराम आचार्यले बताउनुभयो । उत्पादन भएको तरकारी बिक्रीका लागि कुनै समस्या छैन, उहाँले भन्नुभयो, “गाउँमै सडक आएको छ । 

पहिलाजस्तो डोकोमा बोकेर लैजानु पर्दैन । उत्पादन गर्न सके घरमै बसीबसी फोनको आधारमा तरकारी बिक्री गर्न सकिन्छ । बेमौसमी तरकारी उत्पादन गर्न सके बेनीका व्यापारी फाँटमै गाडी लिएर आउँछन् ।”

तरकारी खेतीको आम्दानीले यहाँका कृषकको जीवनशैलीमा सकरात्मक परिवर्तन ल्याइदिएको युवा कृषक अर्जुन पौडेलले बताउनुभयो । “आफ्नै माटोमा परिश्रम गर्दा गौरवको अनुभूति हुन्छ,” कृषक पौडेलले भन्नुभयो, “परिश्रम गर्न सके तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ ।” 

सल्यानका साथै बास्कोट, धारापानी र घायखेत तरकारी खेतीका लागि परिचित गाउँ हुन् । स्थानीय सरकारले कृषकलाई थप व्यावसायिक बनाई उत्पादन बढाउन तालिम र प्रविधिमा सहयोग गर्दै आएको छ ।