छविलाल पाण्डे
बुटवल, वैशाख २२ गते । नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीको शुक्रबार बुटवलमा सातौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको उदघाटनसत्रमा बक्ताहरुले मुलुकको कमजोर अर्थतन्त्रको मारमा मजदुर परेको बताएका हुन् ।
बक्ताहरुले मुलुकको खस्किँदो अर्थतन्त्रलाई बचाउन र मजदुरको रोजीरोटी नियमित गर्न समेत माग गरेका छन् । मजदुरहरुको पेशागत हकहितका लागि मजदुर एक हुनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मजदुर र मालिकबीचको मतान्तर विस्तारै खुकुलो हुँदैगएको बताउनुभयो । उहाँले अझै पनि मजदुरका धेरै समस्या रहेको बताउँदै समस्या समाधानका लागि मजदुर एक हुनुपर्ने बताउनुभयो ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले असंगठित क्षेत्रका मजदुरका समस्या समाधानका लागि पनि ट्रेड युनियन आन्दोलनले भूमिका खेल्नुपर्ने भनाइ राख्नुभयो । नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले मजदुरका पेशागत समस्याका लागि एकतामा जोड दिनुभयो ।
त्यस्तै, नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष कांग्रेस नेता काजिमान श्रेष्ठले औपचारिक क्षेत्रमाभन्दा अनौपचारिक क्षेत्रमा रहेका मजदुरको समस्या धेरै रहेको बताउँदै उनीहरुका समस्या समाधानमा प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपाल ट्रेड युनियन रुपन्देहीका कार्यवाहक अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनी प्रदेशका उपाध्यक्ष कृष्ण वेलवासे, व्यूटिसियन संघकी शान्ति शर्मा, राजकुमार वाग्ले, रुपकुमार रायमाझी, विष्णुमाया राना, सफातुल्ला रजा, हिमबहादुर केसीलगायतले भनाइ राख्नुभयो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।