• ३ कात्तिक २०८१, शनिबार

बनेपामा चण्डेश्वरी जात्रा सुरु

blog

फाइल तस्विर ।

केदार तिमल्सिना 

काभ्रेपलाञ्चोक, वैशाख २२ गते । काभ्रेपलाञ्चोकको बनेपाका स्थानीयवासीहरुले हर्षोउल्लासकासाथ मनाउने ‘चण्डेश्वरी जात्रा’ सुरु भएको छ । हरेक वर्ष चण्डि पूर्णिमा अर्थात् बुद्ध जयन्तीको अवसरमा बनेपावासीले चण्डेश्वरी जात्रालाई ठूलो महत्वका साथ मनाउने गर्दछन् । 

करिब छ सय वर्ष पहिले राजा आनन्द देवको पालामा चण्डेश्वरी जात्रा सुरु भएको पाइन्छ । परापूर्व कालमा चण्डासुर नामको दैत्यले तेत्तिसकोटी देवताका साथै बनेपा नगरवासीहरुलाई धेरै दुःख दिएकोले उनीहरुको दुःखबाट मुक्ति दिनका लागि रक्तचन्दन बनबाट चण्डेश्वरी माई प्रकट भई सो दैत्यको नाश गरेको खुसीयालीमा बनेपा नगरवासीहरुले हरेक वर्ष चण्डेश्वरी जात्रा मनाउने गर्दछन् । 

जात्राको पहिलो दिन (बिहिबार) तकः पुजा अर्थात् चण्डेश्वरीसहित विभिन्न देवीदेवताको पुजा गरी चण्डेश्वरीमा १२ वटा काला बोकाको बलि दिइएको थियो । जात्राको दोस्रो दिन बिहान अर्थात् पूर्णिमाको दिन (शुक्रबार) बिहान ३ : ३० बजे स्थानीयहरुले हातहातमा चिराग लिएर बनेपाको लायकु दरबारमा उपस्थित भई विभिन्न बाजागाजासहित भजन किर्तन गर्दै चिराग लिएर चण्डेश्वरी नजिकै रहेको जैसिगाकुण्ड, पवित्र तिर्थस्थलमा गई नुहाएका हुन् ।

जात्राको दोस्रो दिनमा नै काठमाडौंको हनुमानढोकाबाट कानफुट्टा जोगी आएपछि बनेपाको तीन धारामा एक भेडा र एक कुखुराको भाले काटेर पुजाआजा गरि देवता राख्न रथलाई चण्डेश्वरी मन्दिरमा लैजाने प्रचलन छ । देवी राख्नका लागि लैजान लागिएको रथ बोक्नका लागि युवाहरुको ठुलो भिड लाग्ने गर्दछ । जात्राको तेस्रो दिन देवी राख्नका लागि चण्डेश्वरी मन्दिर पुर्याइएको रथमा देवता राखी बजारतर्फ ल्याइने गरिन्छ । देवता राखी ल्याइएको सो रथलाई भैरव कुण्डलमा देवताको मुख धोएर बजारतर्फ ल्याइने प्रचलन रहेको स्थानीय बुढापाकाहरु बताउनुहुन्छ । 

देवता राखेर ल्याइएको रथलाई भोक्षिभोया थरका कन्याहरुले लशकुश अर्थात् देवताको मुख खोलेर स्वागत गर्ने चलन छ । लशकुश गरेपछि सो रथलाई सहर परिक्रमा गराइ लायकु दरवारमा लगि हाँसको बलि दिई (राज) पुजा गरिन्छ । बलि दिएका १२ काला बोकामध्ये एक बोका पुजा पाठ गर्ने जोशीलाई, एक द्धारेलाई दिई अन्य बोकाहरुको मासु टुक्रा पारी कलदान गर्ने चलन छ । कल दान गरेको मासुमध्ये पनि बोकाको कान, जिब्रो, आँखा, सिङ्ग लगायतका चिज भेटाउने व्यक्तिको मनको आकांक्षा पुग्ने किंवदन्ती छ । यसमध्ये पनि दाहिने सिङ र आँखा, कान भेटाएमा झनै राम्रो हुने स्थानीय वृद्धहरु बताउनुहुन्छ । 

कलदान पछि देवता राखेको रथलाई गणेशस्थानबाट चण्डेश्वरीसम्म पुर्याइन्छ। भाले बास्नुभन्दा अगावै सो रथलाई चण्डेश्वरी पुर्याउनु पर्ने जात्राको अर्को रोमाञ्चक पक्ष हाे । भाले बासेपछि रथलाई चण्डेश्वरीमा पुर्याइएको खण्डमा सो रथलाई मन्दिरभित्र पसाउन नपाइने नियम छ । 

यस जात्राका लागि देश तथा विदेशका विभिन्न स्थानमा कामको सिलसिलामा रहेका सम्पूर्ण बनेपालीहरु घर आउने गर्दछन् । देवमाला बंशावलीमा उल्लेख भएअनुसार सत्य युगको प्रथम पागमा नै चण्डेश्वरी जात्रा उल्लेख भएको पाइन्छ ।