धनगढी समाचारदाता
धनगढी, वैशाख २१ गते । कैलालीको ग्रामीण क्षेत्रमा औषधीय गुण भएको महुवा सङ्कलनको चटारो चलेको छ। गहुँ भित्र्याउने काम सकिएपछि स्थानीयवासी जङ्गली महुवा सङ्कलनमा अग्रसर भएका हुन्। स्थानीय महुवा सङ्कलनका लागि बिहानै जङ्गल पस्ने गरेका छन्। महुवा सङ्कलनको सिजन सुरु भएदेखि वनमा महुवा बटुल्नेको चहलपहल बढेको कैलारी गाउँपालिका–७ की कालीदेवी चौधरीले बताउनुभयो।
“बिहानभरि सङ्कलन गरेपछि दुई/तीन किलो पाउन सकिन्छ,” उहाँले भन्नुभयो। महुवा वनमा पाइने गैरकाष्ठ प्रजातिका वृक्षको फूल हो। वसन्त ऋतुभरि यसको फूल फुलेर झर्ने गर्दछ। झरेको फूललाई स्थानीयले सङ्कलन गरी सुकाउने र आवश्यक परेका बेला त्यसलाई उपयोग गर्ने गर्दछन्। गाउँघरमा यसबाट सुगन्धित रक्सी बनाउने गरिएको भजनी नगरपालिकाका स्थानीयवासी हनुमान चौधरीको भनाइ छ। महुवाबाट औषधिसमेत बनाउन सकिने भए पनि यसको उपयोग केवल रक्सी बनाउनमा मात्रै सीमित रहेको पाइएको छ।
संरक्षणकर्मी विजयराज श्रेष्ठ महुवा बहुउपयोगी फूल भएको बताउनुहुन्छ। “यो धेरै चिजमा औषधिका रूपमा काम आउन सक्छ,” उहाँले भन्नुभयो। महुवा शक्तिवद्र्धक जडीबुटी भएको बुझाइ छ। महुवा दूध वा तातो पानीमा मिसाएर खाएमा शरीरलाई फाइदा गर्छ।
यसको वैज्ञानिक रूपमा परीक्षण र पुष्टि भने भएको छैन। महुवा परम्परागत रूपमा स्थानीय थारू समुदायले रक्सी बनाउन प्रयोग गर्ने औषधीय गुण भएको जडीबुटी हो।
वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गङ्गादत्त भट्टले भन्नुभयो, “यसबाट अझ के के बनाउन सकिन्छ, त्यसको अनुसन्धान गर्छौं।” महुवाको संरक्षण हुन आवश्यक रहेको भट्टले उल्लेख गर्नुभयो।
थारू समुदायले महुवाबाट बनाएको रक्सी गाउँघरमा महुवारीको नामले परिचित छ। जङ्गलमाजथाभाबी महुवा सङ्कलन गर्न पाइँदैन। स्थानीयले आआफ्नो रुख किटान गरेर महुवाको रुखको रेखदेख गर्ने गर्दछन्। महुवा सङ्कलन सिजनभरि उनीहरूले रुखको स्याहार्ने गर्दछन्।