• ४ पुस २०८१, बिहिबार

मिटरब्याजविरुद्धको उजुरी लिइने

blog

सर्लाही समाचारदाता

सर्लाही, वैशाख २१ गते । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले बुधबार सर्लाहीमा यहाँका मिटरब्याज साहु र पीडितको अवस्थाबारे प्रारम्भिक जानकारी लिएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यालय स्थापना भएपश्चात् आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी बुधबार सर्लाही आएर मिटरब्याजपीडित, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा अधिकारी, दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग छलफल गरी  फर्किनुभएको हो । 

छलफलमा अनुचित लेनदेन अर्थात् मिटरब्याज उजुरी दर्ता र फस्र्योट गर्न सहायता कक्षलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, सरकारले निवेदन दिन तोकेको मिति अर्थात् आउँदो वैशाख ३१ गतेभित्र पीडितको उजुरी दर्ता गराउने र सोको फस्र्योट गरी पीडितलाई सहयोग गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । 

आयोगले जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गरी उजुरी दिन मिटरब्याजपीडितसँग आह्वान नै गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विद्युत् सर्ट भएर वायरिङ जलेपछि सेवा नै ठप्प हुँदा निवेदन लिन केही समस्या भए पनि शुक्रबारदेखि पीडितको उजुरी लिने काम धमाधम अघि बढ्ने बताउनुभयो ।