• ३१ वैशाख २०८२, बुधबार

मधेशको अधिकारका लागि सकारात्मक छु : प्रचण्ड

blog

काठमाडौँ, वैशाख २१ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू सधैँ मधेश र मधेशी जनताको हक–हित र अधिकारका लागि सकारात्मक रहँदै आएको बताउनुभएको छ। 

उहाँले भन्नुभयो, “मैले मधेशको जनता र त्यहाँका राजनीतिक दलहरूको विश्वास जित्नका निम्ति संविधान संशोधनका लागि सदनमा दुई–दुई पटक प्रस्ताव दर्ता गराएँ ताकि त्यहाँको जनता, राजनीतिक र बुद्विजीवीलाई यो भरोसा होस् कि मधेशी जनताको आवाज र भावनाप्रति प्रचण्ड संवेदनशील छ।’’ 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म’ (आत्मवृत्तान्त) पुस्तक सार्वजनिक गर्दै उहाँले सदनमा दुई–दुई पटक संविधान संशोधन प्रस्ताव दर्ता गराए पनि सदनमा शाक्तिका रूपमा रहेको नेकपा (एमाले)का कारण पास हुन नसकेको आरोपसमेत लगाउनुभयो।

प्रधानमन्त्रीले भन्नुभयो, “मधेश आन्दोलनमा भइरहेको अवस्था र संविधानप्रति असन्तुष्ट रहेको परिस्थितिमा अयोधीजी प्रमुख निर्वाचन आयुक्त हुनुभयो। उहाँ एकदम इमानदार र प्रतिबद्ध भएर नलागेको भए वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन गर्न सजिलो थिएन। तर उहाँले गराउनुभयो।”

उहाँले भन्नुभयो, “जतिबेला म दोस्रो पटक प्रधानमन्त्री थिएँ। त्यतिबेला पनि देश अप्ठ्यारो परिस्थितिमै थियो। संविधानप्रति विभिन्न विमति र असन्तुष्टि थिए। मधेश आन्दोलनमा थियो, अर्थतन्त्र पनि उत्साहजनक थिएन। सङ्घीय ढाँचाको टुङ्गो लगाउन बाँकी नै थियो। तर, निकै मेहनत गरियो, परिणाम पनि राम्रो आयो।’’

सार्वजनिक गरिएको पुस्तक एउटा सहज र सरल आत्मवृत्तान्त रहेको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले पुस्तकमा उल्लेख गरिएका विषयवस्तु र प्रसङ्ग कुनै अतिरञ्जित नभई सन्तुलित र प्रामाणिक रहेको बताउनुभयो। नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रचण्डले अयोधीजीले जे–जति कुरा लेख्नुभएको छ, जस्ता प्रसङ्ग उठाउनुभएको छ, त्यहाँ कुनै ढोङ छैन, बरु इमानदारी छ भन्नुभयो।

पूर्वमन्त्री मातृकाप्रसाद यादवले सार्वजनिक गरिएको पुस्तकको विविध पक्षबारे चर्चा गर्दै अयोधीप्रसाद यादवको नेतृत्वमा भएको अद्वितीय निर्वाचन अहिले र भविष्यमा हुने निर्वाचनका लागि एउटा उदाहरण बन्न सक्ने बताउनुभयो।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले डा.अयोधीप्रसाद यादवको नेतृत्वमा संविधान सभा, वडादेखि राष्ट्रपतिसम्मको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो। पुस्तकका लेखक यादवले आफूले पुस्तकमा उल्लेख गरेको विषयवस्तु, घटना र तिथिमिति आधिकारिक रहेको बताउनुभयो।