• ७ वैशाख २०८१, शुक्रबार

चर्च ब्वाइज र हिमालयन शेर्पाको रोमाञ्चक जित

blog

हिमालयन शेर्पाका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, वैशाख २० गते । चर्च ब्वाइज र हिमालयन शेर्पा क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक जित निकालेका छन् । 

दशरथ रङ्गशालामा बुधबार भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्सलाई २-१ गोलले हरायो । च्यासल मैदानमा भएको खेलमा हिमालयन शेर्पाले सातदोबाटो यूथ क्लबलाई १-० गोलले स्तब्ध बनायो । 

पहिलो हाफमा १-० गोलले पछि परेको चर्च ब्वाइजले दोस्रो हाफमा दुई गोल गर्दै पुनरागमन जित निकालेको हो । चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष् चापागाईँले गोल गर्नुभयो । फ्रेन्ड्सका बेन क्वान्साको सुरुवाती गोल सान्त्वना बन्यो । 

प्रतिस्पर्धात्मक खेलमा फ्रेन्ड्सले १४औँ मिनेटमा बेनको हेड गोलमा खाता खोलेको थियो । त्यसपछि ८७औँ मिनेटमा अन्जन विष्टले पेनाल्टीमा गोल गदै खेललाई बराबरीमा ल्याउनुभयो । 

डिबक्सभित्र रञ्जित सिंह पान्द्रेलाई बेन क्वान्स र प्रेमबहादुर भण्डारीले फल हानेपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो । इनजुरी समयमा आशिष् चापागाईँले गोल गर्दै चर्च ब्वाइजलाई रोमाञ्चक जित दिलाउनुभयो । 

जितसँगै १४ खेलबाट २४ अङ्क बनाएको चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । पराजित फ्रेन्ड्स १५ अङ्कसहित १३औँ स्थानमा छ । 

यसैगरी हिमालयन शेर्पालाई जिताउन खामिर गिल्सनले निर्णायक गोल गर्नुभयो । गिल्सनले ६५औँ मिनेटमा गरेको गोल हिमालयन शेर्पाको जितमा पर्याप्त बनेको थियो । लिगमा हिमालयन शेर्पाको यो चौथो जित हो ।

जितसँगै १४ खेलबाट १७ अङ्क बनाएको गोल शेर्पा आठौँ स्थानमा उक्लिएको छ । समान खेलबाट २२ अङ्क बनाएको सातदोबाटो चौथो स्थानमा छ । 

डबल राउन्ड रोविन लिगका आधारमा सञ्चालित लिगमा ‘ए’ डिभिजनका १४ क्लबको सहभागिता रहेको छ । लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपियाँ पुरस्कार पाउने आयोजक अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

यस्तै ‘फेयर प्ले अवार्ड’ पाउने टोली र सर्वोत्कृष्ट खेलाडीलाई तीन तीन लाख, उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही दुई लाख र उदीयमान खेलाडीलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

एन्फाले प्रत्येक खेलका ‘प्लेयर अफ दि म्याच’ लाई १० हजार, प्रत्येक खेलको विजेता टोलीलाई ५० हजार र यदि खेल बराबरी भएका २५ हजार रुपियाँ प्रदान गरिएको छ ।