कपिल ज्ञवाली
सिद्धार्थनगर, वैशाख २० गते । २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०८० को तयारी पूरा भएको छ । मूल समारोहको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख २२ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।
कार्यक्रमबारे लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा बुधबार पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा २५६७ औँ बुद्ध जयन्ती एवं लुम्बिनी दिवस विशेष समारोह हुनेछ ।
यस वर्षको बुद्ध पूर्णिमाको दिनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष समारोहसाथ मनाउन मूल आयोजक समिति, त्यस अन्तर्गत मूल व्यवस्थापन समिति र विभिन्न उप–समितिहरू गठन गरी तयारी गरिएको सदस्यसचिव सानुराजा शाक्यले बताउनुभयो । कार्यक्रमका लागि एक करोड रुपियाँ छुट्टयाइएको उहाँको भनाइ छ ।
लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक ढुण्डिराज भट्टराईका अनुसार वैशाख १९ गते देवदहमा देवदह सुत्त र तीन बौद्ध नारी विभूति परिचर्चा प्रवचन कार्यक्रम, वैशाख २१ गते बिहान दीप प्रज्वलन, महापरित्राण, २२ गते बुद्ध पूर्णिमाको दिन बिहान पूजापाठ, शोभायात्रा, बिहान ९ बजे देखि ११ बजे दुई घण्टासम्म बुद्ध जयन्तीको मूल कार्यक्रम आयोजना हुनेछ ।
त्यस्तै, वैशाख २२ गते पण्डितपुरदेखि रामग्राम अस्थिधातु यात्रा, २३ गते बिहान ८ बजे लुम्बिनीबाट कपिलवस्तुसम्म बोधिसत्त्व सिद्धार्थको शोभायात्रा, बिहान ११ बजे कपिलवस्तु तिलौराकोटमा विशेष समारोह हुने भट्टराईले बताउनुभयो । बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसलाई विगतमानजस्तै गरी महत्त्वपूर्ण उत्सवका रूपमा मनाउने कोषको भनाइ छ ।
लुम्बिनी विकास कोषका सूचना शाखा प्रमुख डा. हरिध्वज राईले गत वर्षभन्दा यस वर्ष ५१.८६ प्रतिशतले लुम्बिनी आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । लुम्बिनीमा गत वर्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा बुद्धजयन्ती भव्य रूपमा मनाइएको थियो ।